कोल्हबी,फ्रान्सेली नागरिक वर्नाडे इनिशिषलाले कोल्हबी नगरपालिका वडा नम्बर २ बगेवास्थित नेपाल आधारभूत राष्ट्रिय विद्यालयमा पुस्तकालय स्थापना गर्न ६० हजार रुपैया सहयोग गर्नुभएको छ । पुस्तकालय निर्माणको लागि आवश्यक पर्ने रकम मध्येको वर्नाडेले शनिवार विद्यालयमै पुगेर तत्कालको लागि ६० हजार रुपैया नगद सहयोग गर्नुभएको हो ।बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीमार्फत विद्यालयका प्रधानाध्यापक सिरता उप्रेती मैनालीलाई सो रकम हस्तान्तण गर्नुभएको थियो । पुस्तकालय निर्माणको लागि विद्यालयले २ लाख ५० हजार रुपैयाको अनुमानित लागत पेस गरेकोमा सो मध्ये तत्कालको लागि बर्नाडेले ६० हजार उपलब्ध गराउनुभएको कार्यक्रममा सहभागी कोल्हबी नगरपालिकाका पूर्वनगर प्रमुख भरतबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले बाँकी रकम ६ महिनाभित्र उपलब्ध गराउने प्रतिवद्धता जनाएको पनि भण्डारीले बताउनुभयो ।अन्तर्राष्टिय गैह्सरकारी संस्थामार्फत समाजसेवामा सक्रिय रहदै आउनु भएका ६८ वर्षिय बर्नाडले यसअघि पनि सो विद्यालयमा ८ थान कम्युटर सहयोग उपलब्ध गराउनुभएको थियो । उहाँले आफूले सहयोग गरेको कम्प्युटरको अवस्था बारे पनि जानकारी लिनुभएको थियो ।सोही कार्यक्रममा बर्नाडेले विद्यालयका विद्यार्थीहरुलाई १÷१ थान कापी र कलम पनि सहयोग गर्नुभएको थियो । विद्यालयमा करिव २२५ जना विद्यार्थी अध्ययनरत छन ।ग्रामीण क्षेत्रको विद्यालयमा अध्ययन गर्ने बालबालिकको लगि सहयोग उपलब्ध गराएकोमा प्रतिनिधि सभा सदस्य मैनालीले बर्नाडेलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा कोल्हबी नगरपालिका वडा नम्बर २ का वडा सदस्य दानबहादुर श्रेष्ठ, विद्यालयका शिक्षक मदन पञ्जियारलगायतको उपस्थिति रहेको थियो ।

















