निजगढ,बाराको तामागढी–सिम्रौनगढ हुलाकी सडक निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि अधिग्रहण गरिएको घर, टहरा, तथा जग्गाको मुआब्जा नपाएपछि शुरु भएको रिले अनशन र धर्ना कार्यक्रम अन्ततः स्थगित भएको छ ।
मुआब्जा सहयोग तथा संघर्ष समितिका अध्यक्ष अनवर अन्सारीको नेतृत्वमा १०८ दिनदेखि काठमाण्डौंको माइतीघरमा जारी धर्ना र रिले अनसन बुधवार स्थगित भएको हो ।
सरकारले निर्धारित गरेको मुआब्जा २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६२५ रुपैयाँ समयमा नपाउँदा आक्रोशित बनेका स्थानीयहरू लामो समयदेखि सडक आन्दोलनमा थिए ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको निर्देशनमा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको समन्वयमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल र संघर्ष समितिका प्रतिनिधिहरूबीच भएको छलफल पछि बुधवार दुई बुँदे सहमति भएको छ । माइतीघरमा भएको सहमतिअनुसार सरकारले मुआब्जाको बाँकी रकम यसै आर्थिक वर्षभित्र उपलब्ध गराउन पहल गर्ने छ । साथै, १०८ दिनदेखि जारी रिले अनशन र धर्ना कार्यक्रम हाललाई स्थगित गरिएको जनाइएको छ ।सडक विभागका महानिर्देशक रामहरि पोखरेल र मुआब्जा संघर्ष समितिका अध्यक्ष अनवर अन्सारीबीच सांसद मैनालीको रोहबरमा बुधवार नै सहमति पत्रमा हस्ताक्षर भएको थियो ।



















