काठमाडौं, ८ मंसिर। चीनले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा जनजीवन सामान्य बनाउन सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले विपद्पछिको पुनर्निर्माणसँगै नेपालको विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने बताएको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनपछि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको प्रश्नको जवाफ दिँदै नेपाललाई थप सहयोग गर्ने बताएका हुन्।

नेपालले हालैको बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको र त्यसमा चीनले सहयोग गर्ने सङ्केत दिएको विषयमा रोयटर्सले चीनको धारणा मागेको थियो।

जवाफमा प्रवक्ता गुओले प्राकृतिक विपद्ले नेपालमा ठूलो क्षति पुर्‍याएको र पुनर्निर्माणका लागि चुनौतीपूर्ण अवस्था रहेको उल्लेख गरे। चीनले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेको र विपद्का बेला नेपाली जनताको साथमा रहेको उनको भनाइ थियो।

‘यसअघि उपलब्ध गराइएको आपत्कालीन सहायताका अतिरिक्त विपद् प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गर्न र काम तथा जनजीवनलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्नेछ,’ उनले भने।

चीनले पुनर्निर्माणमा सहयोग गर्नुका साथै प्राकृतिक विपद्बाट उत्पन्न जोखिम र चुनौतीको सामना गर्न नेपालको विपद् रोकथाम तथा न्यूनीकरण क्षमता बढाउन पनि सघाउने जनाएको छ।

प्रवक्ता गुओले चीन र नेपाल हिमाल तथा नदीले जोडिएका मित्रवत् छिमेकी भएको उल्लेख गर्दै नेपालको उत्तरी क्षेत्रमा गएको ठूलो गेग्रानसहितको बाढीपछि चीनले तत्काल आपत्कालीन सहायता उपलब्ध गराएको स्मरण गराए।

उनका अनुसार चिनियाँ सरकारले नेपाललाई नगद सहयोगसहित पाँच खेप आपत्कालीन राहत सामग्री उपलब्ध गराएको थियो। त्यसैगरी, सुरुङ उद्धार र विधि विज्ञान पहिचानमा विशेषज्ञता हासिल गरेका २० भन्दा बढी विज्ञ नेपाल पठाइएको थियो।

चीनले विपद्का बेला मौसम, जल तथा भूगर्भसम्बन्धी तथ्याङ्कसमेत निरन्तर आदानप्रदान गरेको गुओले जानकारी दिए। चीनका विभिन्न क्षेत्रका नागरिकले पनि नेपाली जनताप्रति सद्भाव र समर्थन व्यक्त गर्दै सहयोगको हात बढाएको उनले बताए।

Leave a Reply