काठमाडौं। भारतीय प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणबाट कुनै ठोस उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरेका छन्। उनले भ्रमणका क्रममा देखावटी पक्ष र प्रतिबद्धता मात्रै सकारात्मक देखिएको तर परिणाममुखी उपलब्धि प्राप्त नभएको दाबी गरेका हुन्।

मंगलबार सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मुनीले नेपाल–भारतबीचको सम्बन्धमा भ्रमणले अपेक्षित उपलब्धि दिन नसकेको उल्लेख गरेका छन्।

उनका अनुसार भ्रमणका क्रममा जारी गरिएको संयुक्त भिजन दस्तावेजलाई भारतले कूटनीतिक औजारका रूपमा प्रयोग गरेको देखिन्छ। उक्त दस्तावेजको वास्तविक कार्यान्वयन भने नेपाल र भारतबीचको आगामी राजनीतिक वातावरणमा निर्भर रहने उनको विश्लेषण छ।

त्यस्तै, भारतले बागडोगरा विमानस्थलमा उडान सञ्चालनका लागि नेपालको हवाई क्षेत्र प्रयोग गर्न गरेको मागबारे पनि मुनीले टिप्पणी गरेका छन्। उक्त माग चीनसँग सम्बन्धित सुरक्षा संवेदनशीलताबारे नेपालको प्रतिक्रिया बुझ्ने उद्देश्यले अघि सारिएको उनको दाबी छ।

यस विषयमा नेपाल तत्कालै भारतलाई सहयोग गर्न तयार नरहेको पनि मुनीले उल्लेख गरेका छन्।

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर मुनीले सार्वजनिक गरेको टिप्पणीमा भ्रमणका क्रममा भएका प्रतिबद्धता र तिनको कार्यान्वयनबीचको अन्तरलाई मुख्य रूपमा उठाइएको छ।

Leave a Reply