जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका क्रममा नेकपा एमालेले बनाएको सत्ता समीकरणको रणनीति असफल भएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तिम समयमा राजनीतिक समीकरण परिवर्तन गरेपछि एमाले, नेपाली कांग्रेस र नेकपा प्रतिपक्षमा पुगेका छन्।

एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउने तयारी गरेका थिए। तर, जसपाले अन्तिम समयमा एमालेबिनाको विकल्प रोजेपछि संविधानको धारा १६८ को उपधारा ९३० अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।

यसअघि एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार ढलेको थियो। नयाँ सरकार गठनका लागि एमाले, नेकपा र कांग्रेसबीच सहमतिको प्रयास भए पनि सफल हुन सकेन।

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले एक साताभित्र विश्वासको मत लिने र सर्वदलीय सरकार बनाउने बताएका छन्। तर, उनको सरकारलाई विश्वासको मत प्राप्त गर्न चुनौती देखिएको छ।

१०२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५२ सांसदको समर्थन आवश्यक छ। जसपा नेपालका २७ सांसद मात्रै रहेकाले सरकार टिकाउन अन्य दलको समर्थन अनिवार्य छ।

नयाँ सरकार गठन भए पनि दलहरूबीचको अविश्वास र बदलिँदो सत्ता समीकरणका कारण मधेश प्रदेशको राजनीतिक अन्योल भने कायमै रहेको छ।

Leave a Reply