बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बारा क्षेत्र नम्बर २ का उम्मेदवार पुरुषोत्तम पौडेलले क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास, सामाजिक न्याय र सुशासन आफ्नो मुख्य चुनावी एजेण्डा रहेको बताउनुभएको छ ।बाराको महागढीमाई नगरपालिकाको धर्मपुरमा कृपा दैनिकसंग कुरा गर्दै उम्मेदवार पौडेलले सामाजिक विकासको दृष्टिले समेत क्षेत्र नम्बर २ निक्कै पछाडि परेकोले यस क्षेत्रको विकास नै आफ्नो मुल एजेण्डा भएको बताउनुभयो ।उहाँले गढीमाई क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्न र मन्दिरको शौन्दर्यीकरण गरी पर्यटक बढाउने कार्यमा आफू क्रियाशील हुने बताउनुभयो । तियर, थलही र पसाहा नदीमा व्यवस्थित सिँचाई आयोजना संचालन गरी सिँचाई सुविधाको बिस्तार गर्न, किसानलाई समयमै रसायनिक मल र उन्नत बीउको प्रबन्ध गर्न, महागढीमाई रिंगरोड, पूर्वपश्चिम राजमार्ग– नयाँबस्ती हुदै गढिमाई सडक निर्माण जस्ता विकासका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको पनि बताउनुभयो । उहाँले जमुनी, तिहर र थलही नदीमा पक्की बाँध निर्माण गरेर किसानलाई सिँचाई सुविधा पुर्याउने कार्य आफ्नो प्राथमिकतमा रहेको बताउनुभयो । उहाँले मधेसमा विद्यमान महिला हिंसा न्यूनीकरणको लागि पनि अफू क्रियाशील हुने बताउनुभयो । त्यसैगरी करैयामाई, देवताल र सूवर्ण गाउँपालिका र गढीमाई तथा पचरौता नगरपालिका जोड्ने धुले (कच्ची) सडकहरुलाई धुलोरहित बनाउने, करैयामाई, मन्दिर, सहजनाथ, बाबामहेश्वरनाथ महादेब मन्दिर (तेलकुवा)को सौन्दर्यीकरण गर्ने क्षेत्रमा गिर्दो शिक्षाको स्तर वृद्धि गरी बालबालिकालाई प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने र ५० सैयाको अस्पताल निर्माण गरी नागरिकहरुलाई आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा उपलव्ध गराउने र शुद्ध पिउने पानीको अधिकारबाट बन्चित जनतालाई शुद्ध पानी उपलव्ध गराउन जस्ता कार्य आफ्नो चुनावी एजेण्डा रहेका पनि बताउनुभयो ।त्यस्तै जनताको चेतना स्तर अभिवृद्धि गर्न र आफ्नो अधिकारप्रति सचेत बनाउन आफू लागि पर्ने उहाँले बताउनुभयो । उहाँले देशको सार्वभौमसत्ताको संरक्षण र राष्ट्रियताको जगेर्ना गर्ने कार्यमा नेकपा एमालेको अभियानमा साथ दिन पनि क्षेत्रका मतदाताहरुसंग आग्रह गर्नुभएको छ ।उहाँले चुनाव प्रचारको क्रममा मतदाताबाट राम्रो पाएकोले आफ्नो जित निश्चित रहेको पनि बताउनुभयो । उहाँले एमालेको उम्मेदवारीसंगै क्षेत्रका मतदातामा उत्साहा बढेको बताउदै आफूले जनताको दुखसुखमा साथ दिदै आएकोले जनताले पनि आफूलाई मतदान गर्ने बताउनुभयो । उहाँले यसअघि एमाले कमजोर जस्तो देखिएको भएपनि बारा क्षेत्र नम्बर २ मा एमाले कमजोर नभएको बताउनुभयो । ‘जनता माथि केन्द्रमा दलका नेताहरुबीच भएको गठबन्धनप्रति जनताले रुची देखाएका छैनन, उहाँले भन्नुभयो, क्षेत्रमा जनताको आफ्नै गठबन्धन छ, जनता पुरुषोत्तम पौडेलको पक्षमा छन ।’ उहाँले सप्तरीबाट पराजित बनेर आएका जसपा उम्मेदवार उपेन्द्र यादवले क्षेत्रका जनतालाई नचिन्ने र जनताले पनि यादवलाई नचिन्ने बताउनुभयो । जसपा अध्यक्ष यादव जिल्ला बाहिरको उम्मेदवार भएकोले क्षेत्रका जनतामा उनीप्रति आकर्षण नभएको पनि बताउनुभयो ।

Leave a Reply