काठमाडौं । कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतमा नेपालले राइजिङ स्टार्स एसिया कपमा पहिलो जित दर्ता गरेको छ।

कतारमा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको हो। यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रनको योगदान दिए। उनले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। त्यस्तै मयन यादवले २७ र बसिर अहमदले अविजित १८ रन बनाए।

यूएईका मुहम्मद मोहसिनले दुई तथा उदीस सुरी र अंश टन्डनले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९।५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। उसका लागि मोहम्मद शाहदादले सर्वाधिक ४०, हरप्रीत सिंह भाटियाले ३२ र नूर उल्लाह अयोबीले १२ रन बनाए।

यूएईलाई कम योगफलमा समेट्ने क्रममा नेपाली कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा ११ रन मात्र खर्चेर तीन मेडनसहित तीन विकेट लिए। कुशल भुर्तेलले पनि तीन विकेट हात पारे। त्यस्तै नन्दन यादव, रासिद खान र ललित राजवंशीले एक–एक विकेट लिए।

प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’ विरुद्ध नेपाल २६ रनमै समेटिँदै ३०६ रनको फराकिलो हार बेहोर्न बाध्य भएको थियो। यूएईविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा पुनरागमन गरेको छ।

नेपालले अब मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply