पुष्पराज खतिवडा
मनहर्वा,कलैया उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१को बजेट सार्वजनिक गरेको छ । बुधवार नगरपालिकाको एघारौं नगरसभामा १ अर्ब ५४ करोड अड्तिस लाख छैसठ्ठी हजार दुई सय पचास रुपैंयाको बजेट प्रस्तुत गरिएको हो ।प्रस्तावित आम्दानी तथा खर्चको सारांश पेश गरेको उपमहानगरपालिकाले ९१ करोड ९८ लाख चालु खर्च बजेट छुटटएको छ ।
सधारण खर्च, ससर्त अनुदान, वडा कार्यालय संचालन, साँवा ब्याज भुक्तानी र दायित्व भुक्तानी चालु खर्चबाट गर्ने जनाएको छ ।यस्तै ६२ करोड ४० लाख ६६ हजार २५० रुपैयाँ पूँजिगत खर्च गर्ने गरी बजेट विनियोजन गरेको उपमहानगरपालिकाले ३९ करोड ८८ लाख ५२ हजार २५० आन्तरिक आय गर्ने प्रक्षेपण गरेको छ ।
उपमहानगरपालिकाकी उपप्रमुख रोशण प्रविणले सार्वजनिक गरेको बजेटमा पूँजीगत खर्चको ठुलो हिस्सा २१ करोड ६० लाख रुपैंया वडा स्तरीय योजनामा खर्च गर्ने भएको छ । यस्तै ६ करोड ७० लाख रुपैंया उसले नगरस्तरीय योजनाका लागि छुट्याएको छ ।संघीय सरकारको विषेश र समपुरक गरी ४० करोड ४ लाख, प्रदेश सरकारको ३३ करोड १८ लाख ५ हजार र मालपोत कार्यालयबाट हुनसक्ने ४० करोड आयलाई उसले मुख्य आय श्रोत देखाएको छ ।

२७ करोड ७ लाख समानिकरण अनुदान, ५३ करोड २६ लाख ससर्त चालु अनुदान, ३६ लाख पूँजीगत अनुदान, राजश्व बाँडफाँड संघीय सरकारबाट १८ करोड ८८ लाख २९ हजार र प्रदेश सरकारबाट २ करोड ५० लाख रुपैंयालाई समेत बजेटमा आय श्रोत देखाईएको छ ।उपमहानगरपालिकाले यस आर्थिक बर्षमा १७ करोड ८९ लाख ६६ हजार २५० रुपैंया दायित्व भुक्तानी गर्ने जनाइएको पनि कसलाई गर्ने भन्ने बारेमा भने खुलाएको छैन ।त्यसैगरी कार्यक्रममा कार्यालयको उत्कृष्ट कार्य गर्ने कर्मचारीको रुपमा प्रमुख प्रशासकीय अधिकृत नाथु साहलाई सम्मान गरिएको थियो ।यसैबीच कलैया उपमहानगरपालिका नगर प्रमुख विनोद साहले नगर प्रहरी परिचालन गरेर आफूहरूमाथि कुटपिट गराएको नगर सभा सदस्यहरुले आरोप लगाएका छन् ।
कलैयाको होटेल करण राजमा सुरु गरिएको ११औँ नगर सभाको उद्घाटन कार्यक्रममा नगर प्रहरीद्वारा कुटपिट गरिएपछि केही नगर सभा सदस्यहरूले त्यसको विरुद्धमा प्रदर्शन गरेका छन् ।यता कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले नगर सभाको उद्घाटन सत्रमा नगर सभा सदस्यहरुले विरोध गर्नु ठिक नभएको बताउनुभएको छ ।
‘नगर सभा सदस्यहरुलाई कुनै कुरामा चित्त नबुझे बन्द सत्रमा कुरा राख्नसकिन्थ्यो उहाँले भन्नुभयो, तर उद्घाटन सत्रमै विरोध गर्नु मर्यादा विपरीतको कार्य हो ।’ नगर प्रहरी र नगर सभा सदस्यहरुबीच बाहिर होल्ल्ला भइरहदा भइरहदा नगर सभाको उद्घाटन सत्र जारी नै राखिएको थियो ।बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले कलैया उपमहानगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएको सुन्नमा आएकोले सुरक्षाको लागि प्रहरी परिचालन गरिएको बताउनुभएको छ ।



















