निजगढ,निजगढ नगरपालिका वडा नम्बर– ७ मा घरबाट निस्केको फोहोर पानी जम्मा गर्ने खाल्टोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
लिचीटोलका स्थानीय जगलाल साहले घरको पानी जम्मा गर्न खनेको खाडलमा डुबेर कलैया उपमहानगरपालिका घर भइ हाल सोही टालेमा बस्दै आएका रामाकान्त यादवका ५ बर्षिय छोरा विवेक यादबको मृत्यु भएको हो ।
आइतवार दिउसोबाट हराएका बालकको खोजी गर्ने क्रममा सोमवार उनको शव खाल्डोभित्र पानीमा डुबेको अवस्थामा फेला परेको थियो ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले दिएको जानकारी अनुसार साथीहरुसंग खेलिरहेका बालक आइतबार दिउसो करीब ३ बजेदेखि बेपत्ता भएका थिए । मृतक बालकका एकजना साथीले खाल्डोमा खसेको जानकारी दिएपछि पानी निकालेर खोजी गर्दा उनको शव फेला परेको हो । साथीहरुसंग खेल्ने क्रममा बालक एक्कासी खाल्टोमा खसेको बताइएको छ ।
घरको भान्छा र बाथरुमबाट निस्किेको पानी जम्मा गर्न जगलालले जेसिबी प्रयोग गरेर करेसाबारीमा करिव ५ फिट गहिरो खडल खनेका थिए ।
बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल कलैया पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय निजगढका निरीक्षक चौधरीले जानकारी दिनुभयो ।

















