बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित नवनिर्मित श्रीकृष्ण मन्दिर परिसरमा आगामी मंसिर १० देखि १६ गतेसम्म श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सव आयोजना हुने भएको छ।
महोत्सवबारे आयोजक मूल समारोह समितिले पत्रकार सम्मेलन गरी तयारी, कार्यक्रम र उद्देश्यबारे जानकारी गराएको हो। करिब ६ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको विशाल श्रीकृष्ण मन्दिरको उद्घाटन गरी उक्त क्षेत्रलाई ‘बाबाजी लक्ष्मीधाम’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
महोत्सवको मुख्य आकर्षणका रूपमा श्रीमत्तारतम सागरको १२५ पारायण वाचन गरिने आयोजकले जनाएको छ। मूल समारोह समितिका संयोजक जनार्दनजी शास्त्रीका अनुसार मंसिर १० गते बिहान भव्य कलश यात्रा निकालिनेछ। सोही दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा नवनिर्मित मन्दिरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
महोत्सवमा धर्मगुरु आचार्य श्रीकृष्णमणिजी महाराजश्री र सूर्यनारायणदासजी महाराजश्रीबाट आशीर्वचन प्रदान गरिनेछ। भारतस्थित श्रीकृष्ण प्रणामी धर्मका विभिन्न आचार्यपीठ—श्री १०८ नवतनपुरी धाम, श्री १०८ महामंगलपुरी धाम र श्री १०८ पद्मावतीपुरी धामबाट महन्त, साधुसन्त, पण्डित, प्रचारक तथा विदुषीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
महोत्सव अवधिभर चौरासी पूजा, व्रतबन्धलगायत विभिन्न धार्मिक अनुष्ठान सञ्चालन हुनेछन्। १२५ पारायण सेवाका लागि ब्रह्ममुनीहरूको चयनसमेत भइसकेको छ।
आयोजकका अनुसार महोत्सवमा देशका विभिन्न स्थानबाट दैनिक करिब १५ हजार भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। आगन्तुकको व्यवस्थापनका लागि विशेष तयारी गरिएको मूल समारोह समितिका महासचिव दीपकप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार महोत्सव अवधिभर दैनिक करिब तीन हजार भक्तजनका लागि बसोबासको व्यवस्था मिलाइएको छ। स्थानीय विद्यालय, मन्दिर, सहकारी संस्थाका सभाहल तथा स्थानीयवासीका निजी आवासमा पाहुनालाई राख्ने प्रबन्ध गरिएको छ।
महोत्सव सम्पन्न गर्न करिब डेढ करोड रुपैयाँ खर्च हुने र पाँच करोड रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ। महोत्सवबाट बचत हुने रकमले मन्दिर आसपासको जग्गा खरिद गरी ‘बाबाजी लक्ष्मीधाम’ मा गुरुकुल सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
पत्रकार सम्मेलनमा जीतपुरसिमरा–४ का वडाध्यक्ष भोजबहादुर खत्री ९ईश्वर० ले महोत्सव सफल बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरे। उनले यस्ता धार्मिक कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
पत्रकार सम्मेलनमा श्री १०८ सुरेन्द्र महाराजजी, यमनाथ भट्ट, उषा घिमिरे, प्रलाद शास्त्री, घनश्याम शास्त्री, पुरुषोत्तम शास्त्री, श्याम शास्त्री, मधुसुधन सिटौलालगायतको उपस्थिति थियो।
















