काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। नेपाल एयरलाइन्सको विमानमार्फत भारत पुगेका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत पुगेको छ। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जाने कार्यक्रम छ। त्यहाँ आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्। पहिलो दिनका लागि अन्य औपचारिक कार्यक्रम भने तय गरिएको छैन।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटवार्ता हुनेछ। उनले बिहान १० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। दुवै प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत गरिएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ।
भेटवार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ।
त्यसैगरी, दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यमार्फत सम्पन्न भएका परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र ९एमओयू० आदानप्रदान गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री शाहले मंसिर ७ गते अपराह्न ३ बजेर १५ मिनेटमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति निवासमा भेटवार्ता गर्नेछन्। त्यसपछि अपराह्न ४ बजेर ५० मिनेटमा उनी दिल्लीबाट स्वदेश फर्किने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राष्ट्रहित र आपसी सहकार्य विस्तारमा केन्द्रित रहेको जनाएको छ। भ्रमणबाट नेपाल–भारत सम्बन्ध थप प्रगाढ बन्नुका साथै दुवै देशका प्राथमिकताका क्षेत्रमा सहयोग र साझेदारी विस्तार हुने अपेक्षा गरिएको छ।
















