गोकुल घोरसाइने
निजगढ,कलैया उपमहानगरपालिका १४ जीतपुर भुलाहवाका वर्ष ५० का सन्तोष थवईको आफ्नै परिवार घरमा बस्न थालेको भर्खर एक वर्ष पुराभयो । सडकमा जन्मिएर खुल्ला आकासमुनि हुर्किएका उहाँलाई कलैया उपमहानगरपालिका र लुमन्ति आवासको लागि सहयोग समूहले निर्माण गरेर दिएको पक्की घरमा बस्न थालेपछि यतिबेला परिवारसंगै उहाँ सुखको जीवन गुजार्दैहुनुहुन्छ ।‘जीवनमा यस्तो सुविधा भएको पक्की घरमा बस्न पाइएला भन्ने कल्पना पनि गरेको थिइन्, उहाँले भन्नुभयो, ‘नसोचेको चिज पाइयो, खुसी र हर्षको सीमा नै छैन ।’

पक्की घरमा बस्न थालेपछि सन्तोषको जस्तै बस्तिमा ३४ परिवारका करिव २०० जनाको खुसी पनि उस्तै छ । घर पाएपछि आफूहरुको नयाँ जीवन शुरु भएको बस्तिका वर्ष ५५ का शिवनाथ महराले सुनाउनुभयो । ‘जीवनको आधाभन्दा बढी समय दुःख र कष्ट सहेर सडक पेटी र खुल्ला चौरमा बिताइयो, महराले भन्नुभयो, अब दुःख सकिए, सुखका नयाँ दिन शुरु भएका छन ।’

३४ वर्षदेखि कलैया भरतचोकको सडक किनारामा जुत्ता सिलाएर बस्ने महरा पहिले कलैया भरतचोककै फुटपाथमा खाना पकाएर खानुहुन्थ्यो र राति त्यही सुत्नुहुन्थ्यो । अहिले उहाँ दिनभरि बजारमा गएर काम गर्ने र साँझ परेपछि आफ्नै घरमा आएर बस्नुहुन्छ ।कलैयाको बरेवा दरवारअगाडिको खुल्ला चौरमा बस्दैआएका थवही समूदायका २८ सहित ३४ विपन्न र दलित परिवारको सुरक्षित बसोबासलागि कलैया उपमहानगरपालिका, लुमन्ति सहयोग समूह र थवई उपभोक्ता समूहको सहकार्यमा निर्माण भएका २÷२ कोठे अर्धपक्की घर १ वर्षअघि हस्तान्तरण गरिएको थियो । ईटा, सिमेन्ट र जस्तापाताले बनेको भवनसंगै बस्तिमा शौचालय, खानेपानी, बिजुली, सडक र खेल मैदान जस्ता अत्यावश्यक पूर्वाधार सुविधासमत उपलब्ध छ ।

बस्तिमा ढुङ्गाको सामान बनाउने थवई जातिसंगै सरसफाइको काम गर्ने मुसहरका २ र छालाको जुत्ता, चप्पल निर्माण गर्ने पेसा अंङ्गालेका चमार समुदायका ४ समेत गरी ३४ परिवारका झण्डै २०० सदस्यको बसोबास छ ।
बस्तिमा आएपछि पेसा गर्न पनि सहज भएको उनीहरुको भनाई छ । ‘पहिलेपहिले सडक र खोला किनारा र चौरमा बसेर काम गर्नुपथ्र्यो, बस्तिका अर्का वीरेन्द्र थवईले भन्नुभयो, घाम, पानी, हुरिबतास र असिना केही भन्न पाइदैनथ्यो, उहाँले भन्नुभयो, अब ढुुक्कले घरमा बसेर काम गरिन्छ र व्यापार गर्न पनि सजिलो भएको छ ।’ उनीहरुले आफ्नो उत्पादन काठमाण्डौं, पोखरा जस्ता शहरमा पु¥याएर बिक्री गर्दैआएका छन ।

बस्तिमा आएपछि सुविधासंगै आफूहरुले सुरक्षा अनुभूति पनि गरेको अर्की स्थानीय ४५ वर्षिय किरनदेवी थवईको भनाई । ‘बालबच्चाको स्याहार, भान्साको काम, बस्न र आराम गर्न मात्रै होइन, उहाँले भन्नुभयो, सबैभन्दा ठूलो कुरा महिला दिदीबहिनीहरुलाई सुरक्षाको महशुस भएको छ ।’ पहिले खुल्ला स्थानमा बस्नुपर्दा नचिनेका मानिसहरु आएर अनेक प्रकारले दुःख दिने र सताउने गरेका घटना उहाँले सुनाउनुभयो ।अर्का ३२ वर्षिय सुजित थवईको भनाईअनुसार बस्तिमा बस्न थालेपछि आफू र सन्ततिको जीवनको बाटो नै बदलिएको छ । ‘हाम्ले त स्कुल देख्न पनि पाएका थिएनौं, उहाँले भन्नुभयो, अब बालबच्चा पनि स्कुल जान थाले, उनीहरुको भविष्य अब उज्वल हुने आशा पलाएको छ ।’ ‘शिक्षा हासिल गरेर सके राम्रो जागिर खालान नभए अब आफ्नै परम्परागत पेसालाई व्यवसायिक बनाएर र सभ्य जीवन बिताउने छन ।’ उहाँले भन्नुभयो ।

हाल बस्तिबाट ५ दर्जनभन्दा बढी बालबालिका कलैयाको दुर्गा मावि बरेवामा भर्ना भएर पढ्न थालेको उहाँले जानकारी दिनुभयो ।ढुङ्गाको जातो, सिलौटा र लोहोरो बनाउने थवई जातिको परम्परागत पेसा हो । चुरे क्षेत्रको खोलबाट संकलन गरेको ढुङ्गामा छिनाले कुँदेर उनीहरु आकर्षक सामग्री तयार पार्ने गर्छन । खोलामा राम्रा साइज र बनौंटका ढुङ्गा अभाव हुन थालेपछि भने पछिल्ला दिनमा पेसा धान्न केही गाहे हुन थालेको उनीहरुको भनाई । उनीहरुले निजगढको बकैया, शक्ति, दुधौरा, बालगंगा र धनसार जस्ता खोलाको शीरसम्मै पुगेर ढुङ्गा संकलन गर्ने गरेका हुन । ढुङ्गाको व्यापारिक प्रयोग बढ्न थालेपछि खोलामा यसको अभाव हुन थालेको हो ।

उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले पालिकाले संचालन गरेको धेरै जनप्रिय कार्यक्रम मध्ये ‘विपन्न नागरिक आवास’ कार्यक्रम पनि एउटा मुख्य काम भएको बताउनुभयो । ‘शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित, जेष्ठ र विपन्न नागरिकको क्षेत्रमा उदाहरणीय काम गरेका छौं, उहाँले भन्नुभयो, यस्तै कामको परिणामस्वरुप कलैया देशभरिकै उत्कृष्ट पालिका बनेको र पुरस्कार पनि पाएको हो ।’नेपाल नगरपालिका संघको ३२औं स्थापना दिवसको अवसरमा आर्थिक वर्ष २०८०÷०८१ मा सामाजिक विकासतर्फ उत्कृष्ट काम गर्ने नगरपालिकाको रुपमा कलैयालाई संघले सम्मान गरेको थियो । कलैया १०० पूर्णाङ्कमा ८० अंक प्राप्त गर्दै सर्वोत्कृष्ट ठहरिएको हो ।

केही व्यक्ति र संचारमाध्यमहरुलेसमेत पूर्वाग्रह राखेर पुरस्कारको बारेमा अशोभनीय टिकाटिप्पणी गरेको भएपनि आफूहरु जनताको पक्षमा काम गर्न पछि नहट्ने उहाँको भनाई छ । उहाँले विपन्न आवास कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्दै लगिने पनि जानकारी दिनुभयो । ‘जीतपुर क्षेत्रमा अझै पनि ऐलानी जग्गा धेरै छ, उहाँले भन्नुभयो, नगरमा घरबास नभएका र भूमिहिनहरुलाई लगेर राखिने छ ।’

प्रशासकीय अधिकृत नाथु साहले सामाजिक विकासको क्षेत्रमा जनप्रतिनिधि र कार्यालयका कर्मचारीहरुले लगान र इमान्दारिताका साथ गरेको कामबाट नै कलैया देशभरिमा उत्कृष्ट नगरपालिका बन्नपुगेको बताउनुभयो । उहाँले भन्नुभयोे, पुरस्कारबाट सम्पूर्ण नगरबासी गौरान्वित बन्नुको साथै राम्रो काम गर्नेलाई जनताले मात्रै होइन, विभिन्न संघसंस्थाहरुले पनि पुरस्कृत गर्दारहेछन भन्ने कुराको पुष्टि भएको छ ।’

Leave a Reply