वीरगञ्ज,वीरगञ्जका दुवै भन्सार कार्यालयले आफ्नो काम गर्ने समय दुई घण्टा थप गरेका छन् । भन्सार कार्यालयहरूले अब बिदाबाहेक हरेक दिन बिहान ५ बजेदेखि राति ११ बजेसम्म सेवा प्रदान गर्ने भएका छन् ।यसअघि कार्यालयहरू बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालनमा थियो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले भन्सार समय विस्तारको निर्णय गरेको हो । निर्णयसँगै वीरगञ्ज भन्सार नजिकै रहेको गेट बिहान ५ बजेदेखि राति ११ बजेसम्म खुल्ने जनाइएको छ ।
भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार विस्तारित समयावधिमा बैंक तथा अन्य सेवा पनि सुचारु रहनेछन् । यो निर्णयले व्यापारी र यात्रु दुबैलाई सहजता मिल्ने उहाँको भनाई छ । कार्यालयले यो निर्णयको जानकारी भारतीय महावाणिज्य दूतावासमार्फत भारत सरकारलाई पनि गराइएको छ ।यसले रक्सौलतर्फको भन्सार गेट पनि बिहानै खुल्न मद्दत पुग्ने र रेलको यात्रामा जाने यात्रुहरूलाई थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।प्रमुख जिल्ला अधिकारी अर्यालले निर्णयबाट स्थानीय व्यापारिक क्षेत्र र यात्रुहरूको समय बचत हुने र आर्थिक गतिविधि अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।



















