नरेश गुप्ता
बरियारपुर,बारा जिल्लाको ऐतिहासिक एव धार्मिक स्थल गढीमाई क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ ।
विश्व प्रसिद्ध शक्तिपिठ महागढीमाई मन्दिरमा अग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा पूजापाठसंगै नेपाल र भारतका विभिन्न स्थानबाट घुम्न आउने पर्यटक र श्रद्धालुहरुको संख्या बढेको हो । नयाँ वर्षको पहिलो दिन शनिबार गढीमाई क्षेत्रमा हजारौंले अवलोकन गरेको महागढीमाई नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदामा साह कानुले बताउनुभयो । पछिल्लाो समय गढीमाई मन्दिर क्षेत्र नेपाल र भारतका पर्यटकहरुको रोजाइमा परेको उहाँले बताउनुभयो । नयाँ वर्षमा गढीमाई क्षेत्रमा शनिबार बिहानैदेखि मानिसहरूको ठुलो चहलपहल रहेको थियो ।
पर्यटकहरुको सुविधालाई ध्यानमा राखेर यस क्षेत्रमा खाने र बस्नको लागि सुविधा सम्पन्न होटेल र धर्मशालाको निर्माण कार्य भइरहेको र त्यसपछि यस क्षेत्रको आकर्षण थप बढने उहाँले बताउनुभयो । ‘निकट भविष्यमा नै गढीमाई क्षेत्र प्रदेश नम्बर २ को उत्कृष्ट गन्तव्य बन्ने शंभावना छ, उहाँले भन्नुभयो, यस क्षेत्रमा पर्यटकीय शंभावनाको विकास गर्न सरोकारवाला सबै निकायले थप ध्यान दिनु पर्छ ।’ स्थानीय समाजसेवी जितेन्द्र गुप्ताले पनि गढीमाई क्षेत्रलाई पर्यटकहरुको पहिलो रोजाइको गन्तव्य बनाउन स्थानीयवासिन्दाले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । गढीमाई क्षेत्रमा अग्रेजी नयाँ वर्षको पहिलो दिनसंगै माघे संक्रान्ति र हरेक शनिबार पर्यटक र श्रद्धालुहरुको बिशेष जमघट हुने गरेको छ ।
गढीमाई मन्दिर परिशरभित्र रहेको विशाल पोखरी र त्यहाँ निर्मित सुर्य मन्दिर, ८ करोडको लागतमा निर्माण भएको विवाह मण्डप, सुविधा सम्पन्न शौचालय, स्वच्छ खानेपानी, धर्मशाला र निर्माणाधिन बाल उद्यान पर्यटकहरुको लागि आकर्षणको केन्द्रको रुपमा रहेका छन ।
गढीमाई मन्दिरसंगै जिल्लाको कोल्हबी नगरपालिकको सहजनाथ, कलैयाको सिद्धश्वर मन्दिर, सिम्रौनगढ, निजगढ अमलेखगंजको हात्तीसार क्षेत्रमा पनि आन्तरिक पर्यटकहरुको चहलपहल बढेको थियो ।