काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा हवाई सम्पर्क विस्तारको विषय उठे पनि नेपालले लामो समयदेखि माग गर्दै आएको नयाँ हवाई प्रवेशमार्गबारे सहमति हुन सकेको छैन ।
नेपालले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सहज बनाउन सन् २०१४ देखि भारतसँग थप हवाई रुट माग्दै आएको छ। प्रधानमन्त्री शाहको भ्रमणमा यस विषयमा सहमति हुने अपेक्षा गरिए पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार छलफल अझै निष्कर्षमा पुगेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसहित दुवै देशबीच यस विषयमा पटकपटक छलफल हुँदै आएको छ । भारतले महेन्द्रनगर हुँदै नयाँ हवाई प्रवेशमार्ग उपलब्ध गराए प्रधानमन्त्री शाहको भ्रमणलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिन सकिने नेपाली अधिकारीहरूको भनाइ छ ।
भारतका विदेशमन्त्री एस। जयशंकरसँग हुने छलफलमा पनि नयाँ हवाई रुटको विषय उठाइने एक अधिकारीले बताएका छन् ।
यसैबीच, भारतले पश्चिम बंगालको दार्जिलिङस्थित बागडोगरा र बिहारको रक्सौल विमानस्थलमा उडान सञ्चालनका लागि नेपाली आकाश प्रयोग गर्न प्रस्ताव गरेको छ । नेपालले उक्त प्रस्तावको अध्ययन गरेर आफ्नो धारणा दिने जनाएको छ ।
नेपाल प्रस्तावप्रति सकारात्मक देखिए पनि सुरक्षा संवेदनशीलताका कारण विषयलाई गम्भीर रूपमा अध्ययन गरिरहेको बताइएको छ । भारतीय विमानलाई नेपाली आकाश प्रयोग गर्न दिँदा सैनिक विमानसमेत उड्न सक्ने र सीमावर्ती क्षेत्रमा सैनिक गतिविधि बढ्न सक्ने आशंकाबारे छलफल भइरहेको छ ।
बागडोगरा विमानस्थलबाट हुने उडान चिनियाँ सीमासँग नजिक पर्ने भएकाले चीनले पनि यस विषयमा चासो देखाएको बताइएको छ । यसकारण नयाँ हवाई रुटसम्बन्धी निर्णयमा नेपालले सुरक्षा र कूटनीतिक पक्षलाई समेत ध्यान दिनुपर्ने देखिएको छ ।















