वीरगञ्ज,पर्सा प्रशासनले वीरगञ्ज महानगरपालिकाका केही ठाउँलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

जिल्ला सुरक्षा समितिले आइतवार बैठक बसेर वीरगञ्जको घण्टाघर चोकदेखि गण्डकचोकसम्मको राजमार्ग क्षेत्रलाई अनिश्चितकालसम्मका लागि दङ्गाग्रस्त घोषणा गरेको हो ।

पछिल्लो समय वीरगञ्जसहित देशभर भएको जेन–जी आन्दोलन र प्रदर्शन पश्चात् जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) को प्रावधान प्रयोग गरी वीरगञ्जको घण्टाघर चौकदेखि गण्डक चौकसम्मको राजमार्ग र वीरगञ्ज कारागार कार्यालयको कम्पाउन्ड क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले जानकारी दिनुभयो । अर्को आदेश जारी नभएसम्मका लागि दुवै क्षेत्रलाई दङ्गाग्रस्त घोषणा गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्लाको शान्ति सुरक्षा सुदृढ गर्न र मधेस प्रदेशमा स्थानीय समुदायले आ–आफ्नो रीतिथिति, धर्म, संस्कृति र परम्पराअनुसार चाडपर्व मनाउन सहज होस् भन्ने उद्देश्यले लामो समयसम्म कफ्र्यु लगाउँदा नागरिकको आवतजावतमा पर्ने असुविधालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट सम्ममा स्थानीय प्रशासन ऐन, २०२८ को प्रावधानअनुसार निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरिएको सिडिओ सुवेदीले बताउनुभयो ।

आइतवार नै बसेको सुरक्षा समितिको बैठकले बिहान ११ बजेदेखि साँझ ९ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम उक्त क्षेत्रमा ५ जना वा सोभन्दा बढी व्यक्तिहरूलाई जम्मा हुन, कुनै भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पनि निषेध गरेको छ ।

त्यस्तै, सोही ऐनको दफा ६ (ख) को खण्ड (ज) बमोजिम आजदेखि अर्को आदेश नभएसम्म प्रत्येक दिन साँझ ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि माथि तोकिएको क्षेत्रहरूमा कफ्र्यु लागू गरिएको छ ।

कफ्र्यु अवधिमा अत्यावश्यक सेवाहरू एम्बुलेन्स, दमकल, शव वाहन, फोहोर बोक्ने सवारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी, नेपाल विद्युत् प्राधिकरण, खानेपानी, दूध बोक्ने सवारी, इन्धन ग्यास ट्याङ्कर र हवाई टिकटका आधारमा हवाई यात्रुहरूको आवागमनलाई सहज बनाउन सुरक्षाकर्मीले सहयोग गर्ने सुवेदीले बताउनुभयो ।

निषेधाज्ञा अवधिमा पाँच जना वा सोभन्दा बढी व्यक्तिहरू जम्मा हुन, सभा, जुलुस, घेराउ, धर्ना, बैठकजस्ता कुनै पनि गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको पनि उहाँले जानकारी दिनुभयो । सुवेदीले आदेशको उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिनुभयो ।

Leave a Reply