काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले गौहत्या, गौतस्करी तथा हिन्दू समुदायमाथि हुने हिंसाका घटनाविरुद्ध सडक र सदन दुवैबाट आवाज उठाउनुपर्ने बताएकी छन्। उनले हिन्दू राष्ट्र स्थापनाका लागि राजनीतिक दल र धार्मिक गुरुहरू एकजुट हुनुपर्नेमा जोड दिएकी छन्।
नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि राजनीतिक दलका नेताहरूलाई दबाब दिन धार्मिक गुरुहरूसँग आग्रह गरिन्।
उनले मठमन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दू राष्ट्र स्थापनाबारे प्रश्न गर्नुपर्ने बताउँदै धार्मिक मुद्दामा राजनीतिक नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने धारणा राखिन्।
सांसद ओलीले हिन्दू समुदायका पक्षमा पर्याप्त आवाज उठाउन नसक्दा सनातन धर्मावलम्बीहरूको विश्वास कमजोर हुँदै गएको उल्लेख गर्दै संगठन र राजनीतिक दलले आफ्ना कमजोरीसमेत समीक्षा गर्नुपर्ने बताइन्।
उनले गौहत्या तथा गौतस्करीका घटना हुँदा विरोधमा सडकमा उत्रिनुपर्ने र हिन्दू समुदायमाथि हुने हिंसाका घटनामा खुलेर आवाज उठाउनुपर्ने बताइन्।
ओलीले राप्रपाले हिन्दू राष्ट्र स्थापनाको विषय संसद्मा निरन्तर उठाउने प्रतिबद्धता व्यक्त गर्दै धार्मिक गुरु तथा सनातन धर्मावलम्बीहरूलाई संसद्बाहिरबाट अभियानमा सहयोग गर्न अपिल गरिन्।
उनका अनुसार हिन्दू राष्ट्र स्थापनाको अभियानलाई प्रभावकारी बनाउन संसद्भित्र राजनीतिक आवाज र संसद्बाहिर धार्मिक तथा सामाजिक अभियानलाई सँगसँगै अघि बढाउन आवश्यक छ।

















