जनकपुरधाम । सिरहाको मिर्चैयाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार साँझ मिर्चैया नगरपालिका–६ स्थित मिर्चैया–कटारी सडकखण्डमा रहेको होलिडे होटल अगाडिबाट उनीहरू पक्राउ परेका हुन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले कटारीतर्फ जाँदै गरेको प्रदेश ०१–००५ प ९१२४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–५ जयपुरका २४ वर्षीय दिलीपकुमार सिंह र २८ वर्षीय रज्जितकुमार सिंह दनुवार रहेका छन्। दिलीप मोटरसाइकल चालक थिए भने रज्जित पछाडि सवार थिए।

प्रहरीका अनुसार दुवै जनाको शरीर तलासी गर्दा रज्जितले लगाएको जिन्स पाइन्टको दाहिने खल्तीबाट कालो प्लास्टिकका तीनवटा पोका फेला परेका थिए। ती पोकाबाट ब्राउन सुगरजस्तो देखिने ४० ग्राम ४१० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी उनीहरूको साथबाट इन्फिनिक्स र आइफोन कम्पनीका एक–एक थान मोबाइलसमेत बरामद गरिएको छ।

बरामद लागुऔषध तथा मोबाइलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Leave a Reply