वीरगञ्ज,न्युनतम पारिश्रमिक बृद्धि गर्न माग गर्दै समग्र उद्योग ट्रेड यूनियन नेपालले पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।पटकपटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि श्रमिकको मागप्रति बेवास्ता गरेको भन्दै समग्र उद्योग ट्रेड यूनियन नेपाल मधेस प्रदेश कमिटीले पहिलो चरणमा ७ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।यूनियनका अध्यक्ष हेमराज न्यौपाने र सचिव प्रेम चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।गत माग १५ गते तत्कालिन श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाउनुका साथै श्रम मन्त्रालय लगायत अन्य सम्बन्धीत निकायसमक्ष २६ असार २०८० मा ज्ञापन पत्र बुझाएर दबाब दिएपनि पारिश्रमिक माग सम्बोधनमा बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।प्रेस विज्ञप्तिमा जनाइएअनुसार भदौ १ गते शुक्रवारदेखि श्रमिकहरुले आन्दोलन सुरु गर्ने छन् । पहिलो चरणको आन्दोलनअन्र्तगत पहिलो दिन १ घण्टा धर्ना र नाराबाजी गर्ने, भदौ ३ गते २ घण्टा धर्ना र नाराबाजी, भदौ ४ गते ३ घण्टा धर्ना र नारबाजीसँगै भदौ ५ गते चार घण्टा धर्ना र नाराबाजी गर्ने, भदौ ६ गते साँझ ६ बजे मशाल जुलुस निकाल्ने र भदौ ७ गते आधा घण्टा बारा र पर्साका सम्पूर्ण उद्योग बन्द गर्ने कार्यतालिका रहेको छ ।पहिलो चरणको आन्दोलनबाट पनि श्रमिकहरुको पारिश्रमिक नेपाल सरकारको प्रथम तहका कर्मचारीसरह वृद्धि नगरे दोस्रो चरणको आन्दोलन गर्न बाध्य हुने मजदुर नेतृ गीता भण्डारीले चेतावनी दिनुभयो ।

Leave a Reply