नेपालको संविधान जारी भएको बिहीवार नौ वर्ष पूरा भएको छ । अन्योलपूर्ण राजनीतिक परिस्थितिबीच २०७२ असोज ३ मा जारी भएको संविधानले दसौं वार्षिकोत्सव मनाइरहँदा यसमाथि उठेका प्रश्नमाथि विमर्श, समीक्षा र सुझावका लागि सरोकारवाला सबै पक्ष सधैं उदार हुनुपर्छ । किनकि संविधान आफैंमा गतिशील दस्तावेज हो ।

संबिधान जति बढी लचक हुन सक्यो, दीर्घजीवनको सुनिश्चितता पनि उति नै बढी हुन्छ । लामो आयु भएका संसारका सबै संविधानको खास अन्तर्य यही नै हो ।संविधान जारी भएपछि नेपाली राजनीतिले एउटा गति पक्रेको छ ।
खासगरी २०६४ को निर्वाचनपछि गठन भएको संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०७० मा निर्वाचित संविधानसभाको सफलताकाप्रति संशय थियो । तर यही सभाले संविधान त बनायो नै, २०६३ पछिको एउटा प्रमुख राजनीतिक कार्यभारलाई विश्राम पनि दियो । संविधान जारी भएपश्चातका राजनीतिक घटनाक्रमहरू र खासगरी दुई पटकका आमनिर्वाचनमा सबैजसो राजनीतिक दलको सहभागिताले संविधानको स्वीकार्यता बढाएको छ ।

अब संविधानको आयु यसको पूर्ण पालनासँग जोडिएको छ । कम्तीमा संविधान जारी गर्न एक ठाउँमा उभिएका राजनीतिक दलहरूले संविधानका शब्द र मर्मको पालनामार्फत नेपाली जनताको आकांक्षा पूरा गर्नका लागि अग्रसर भए भने संविधान थप समुन्नत हुँदै जानेछ । संविधानले पनि कानुनी लिपिबाट जीवन्त दस्तावेजमा बदलिने सौभाग्य पाउनेछ ।

 

 

Leave a Reply