काठमाडौँ । नेपाल र भारतबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धलाई बदलिँदो समय र नयाँ पुस्ताको आवश्यकता अनुसार पुनः परिभाषित गर्नुपर्नेमा दुवै देशका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।
आइतबार आयोजित नेपाल–भारत नीति विमर्शअन्तर्गत एसियाली सांस्कृतिक सम्पदासम्बन्धी छलफलमा सहभागी वक्ताहरूले सांस्कृतिक विरासतसँगै शिक्षा, सीप, प्रविधि र युवाको अवसरलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
इन्डिया फाउन्डेसनकी रमी नीरञ्जन देसाईंले नयाँ पुस्ताको सोच र आकांक्षाअनुसार सांस्कृतिक नीतिमा परिवर्तन आवश्यक रहेको बताइन् । नेपाली शोधकर्ता अशोक राई प्यासीले युवालाई आफ्नो संस्कृतिबारे जानकारी गराउँदै सिर्जनशील र दक्ष बनाउन दुवै देशले सहकार्य गर्नुपर्ने धारणा राखे ।
त्यस्तै, भारतका विभिन्न शैक्षिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरूले संयुक्त शैक्षिक कार्यक्रम, सांस्कृतिक आदानप्रदान र सीप विकासमा सहकार्य बढाउनुपर्ने बताए ।
वक्ताहरूले नेपाल र भारतमा ठूलो युवा जनसङ्ख्या रहेकाले त्यसलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने र युवा पलायन तथा दक्ष जनशक्ति विदेशिने चुनौती दुवै देशले मिलेर सामना गर्नुपर्नेमा जोड दिएका छन् ।
















