नरेश गुप्ता
बरियारपुर,विकास र पर्यटन विषयक ३ दिने पत्रकारिता तालिम मंगलबार सिमरामा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ बारा शाखाको आयोजना तथा जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालित विकास र पर्यटन विषयक तिनदिने पत्रकारिता तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रमका बोल्दै प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोख्रेलले पत्रकारिता क्षेत्र स्वच्छ र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो ।
पत्रकारिताको मुल मर्म समाजलाई सही दिशातर्फ लैजाने र प्रभावकारी संदेश दिने भएकोले पत्रकारहरुले सोहीअनुसार कलम चलाउनु पर्ने बताउनुभयो । पत्रकारिता क्षेत्र हरेक क्षेत्रसंग जोडिनु पर्ने भन्दै स्थानीय तहको पर्यटन क्षेत्रको विकास र प्रवद्धनको लागि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने कार्यमा मद्दत पुग्ने किसिमका समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सिमरास्थित होटेल न्यु संगुनमा आयोजित तालिममा स्थानीय २० जना संचारकर्मीहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै संविधान सभा सद्स्य शोभाकर पराजुलीले पत्रकारहरुले आफूलाई अध्ययनशील बनाउनु पर्ने बताउनुभयो । उहाँले पत्रकारहरुले सत्य, तथ्य र निष्पक्ष भएर समाचार बनाउनुभयो । पत्रकारहरुले आफूलाई व्यवासायिक बनाउनुु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बारा जिल्ला शाखाका पूर्वअध्यक्ष गुरु गौतमले पत्रकारिता क्षेत्रको विकासको लागि बाराका स्थानीय तहले चासो नदेखाएको गुनासो गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश सद्स्य लक्ष्मी खरेलले तालिमको आयोजना गरेर महासंघ बाराले प्रशसनीय कार्य गरेको बताउनुभयो । सहयोगी जीतपुरसिमरा उपमहानगरपालिकालाई पनि खरेलले धन्यवाद दिनुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ बारा शाखाका सल्लाहकार एंव कृपा दैनिकका सम्पादक गोकुल घोरसाइनेले पत्रकारहरुले अब विकास पत्रकारिताको अवधारण लिएर समाचार लेख्नु पर्ने बताउनुभयो । स्थानीय स्तरमा पर्यटन क्षेत्रको विकासमा पत्रकारको भुमिका महत्वपूर्ण हुने भन्दै उहाँले पर्यटन क्षेत्रको विकासको लागि पत्रकारिता क्षेत्रको अहम भुमिका रहेकोले पत्रकारहरुले जिम्मेवार बनेर काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा तालिमको सहभागी पत्रकारहरुको तर्फबाट ईन्दिप कोइराला र सुशीला रेग्मीले तालिमको अनुभव बारे बोल्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीहरुलाई तालिमका मुख्य प्रशिक्षक एंव नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्वअध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ बारा शाखा सचिव अनिल गौरवले गर्नुभएको थियो ।