वीरगञ्ज,सशस्त्र प्रहरीले वीरगञ्जबाट १२ लाख रुपैयाँ हुण्डीको रकम र एउटा मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सोमवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार चेक प्वाइन्टमा तैनाथ प्रहरी टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०३–०२० प ४२२२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर बस्ने ३८ वर्षीय छठु महतो कोइरीले प्रयोग गरेको हेल्मेटभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली रुपैयाँ १२ लाख र विभिन्न बैंकका चेकहरु फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता, सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले मोटरसाइकलसहित कोइरीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ । सशस्त्र प्रहरीका अनुसार उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको आशंका गरिएको छ र यसबारे थप अनुसन्धान भइरहेको छ ।

















