काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणमा जान लागेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पुगेको छ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जाँदै छन्। प्रधानमन्त्रीसँगै सरकारको दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसमेत भ्रमण टोलीमा सहभागी हुने भएपछि मन्त्रिपरिषद्को चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय तथा एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Leave a Reply