दुष्यन्त चौधरी
कलैया, १७ फागुन । प्रेम विवाह गरेको आरोपमा गाउँलेले तोकेको जरिवान तिर्न नसकेर ३ वर्षअघि गाउँ निकालिएका बाराका दिपक चौधरीको जीवनमा अर्को विपद थपिएको छ ।

 

आफूहरु गाउँ निकालिएपछि वृद्ध आमाबुबा र अन्य लालाबालाको पालनपोषण गर्ने जिम्मेवारी सम्हादै आएका उनका भाइ अभिषेक पनि दुर्घटनमा परेर गम्भीर घाइते बनेपछि उनीहरुको जीवनमा अर्को बिपत्ति थपिएको हो ।

 

दिपक गाउँबाट निकालिएपछि परिवारमा हातमुख जोड्न जिम्मेवारी सम्हाल्दै आएका भाइ अभिषेक पनि भारतमा भएको रेल दुर्घटनामा परेर घाइते बनेपछि उनको परिवार अहिले ठूलै समस्यामा परेको छ । कमाउन भनेर भारतको गुजरात पुगेका भाइ अभिषेक रेल दुर्घटनामा परेर गम्भीर घाइते बनेका छन । कामको खोजीमा रेल्बे लिकको किनाराबाट हिडदै अभिषेकको झोला चोरी भएको थियो र चोर लखेटने क्रममा उनलाई रेलले किचेको हो । अभिषेकको हात र खुट्टा काटिएको छ र उनको हाल वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

भाइको उपचारको क्रममा अस्पतालमा आइपुगेका दिपक र पुष्पाले ३ वर्षअघि आफूहरुमाथि भएको ज्यादतिपूर्ण घटना सुनाएका हुन । ‘गाउँलेले बस्न दिएन, घरमा खाने अन्न छैन, फेरि अर्को बिपत्ति थपियो, दिपकले भने, समाजले त अत्याचार गर्यो गर्यो फेरि भगवानले पनि हेरेनन् ।’ गाउँ गएर केही काम गरौं भने गाउँलेले फेरि लखेटछन, अब भाइको उपचार र वृद्ध आमाबुबाको पालन पोषण कसरी गर्ने भन्ने चिन्ता थपियो ।’

 

जिल्लाको करैयामामाई गाउँपालिका वडा नम्बर ५ ढोडिया पिप्राका शिवशंकरप्रसाद चौधरीका छोरा दिपक र स्थानीय सुरेन्द्र चौधरीको छोरी पुष्पाबीच माया बसेपछि ३ वर्षअघि लगन गाठोमा बाँधिएका थिए । केटी पक्षको परिवारले अस्वीकार गरेपछि उनीहरूले भागेर विवाहा गरेका हुन । उनीहरुले सिमरास्थित एक मन्दिरमा गएर लगन गाँठो कसेका थिए ।

 

विवाहाको केही दिनपछि नै गाउँ फर्केका दिपकलाई अभिभावकको मञ्जरी बिना बिहे गरेको भन्दै गाउँलेले ५ लाख जरिवाना तोकेका थियो । गाउँका भद्रभलादमी भनिएकाहरुले तोकेको रकम तिर्न नसकेपछि उनीहरुलाई २५ वर्षको लागि गाउँ निकाला घोषणा गरिएको थियो । दिपक र पुष्पाको जोडीले चितवनमा ज्याला बोनी गरेर गुजारा चलाउदैआएको थियो । त्यसबाट बचेको केही पैसा उनीहरुले घर खर्चको लागि पनि पठाउने गथ्र्ये ।

 

 

कमजोर आर्थिक अवस्थाका दिपकले भाइको उपचारको लागि आर्थिक सहयोगसंग आफूहरुलाई घर फर्किने वातावरण बनाइदिन पनि अपील समेत गरेका छन । ‘हाम्रो परिवार विपत्तिमा परेको छ, दिपकले भने, सहयोगको लागि सबैमा अनुरोध छ ।’

Leave a Reply