वीरगंज । पर्सा जिल्लामा गत कात्तिक महिनामा विभिन्न प्रकृतिका ११८ वटा अपराधका घटना दर्ता भएका छन्। प्रहरीले अपराध नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने अभियानअन्तर्गत सोही अवधिमा विभिन्न मुद्दाका फरार प्रतिवादीसहित १२२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार कात्तिक महिनामा सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीका आठ, आर्थिक अपराधका ४९, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ घटना दर्ता भएका छन्।

यसै अवधिमा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका ८५ जना प्रतिवादी पक्राउ परेका छन्। अदालतको फैसलाअनुसार उनीहरूबाट ३२ लाख सात हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने थियो।

प्रहरीको विवरणअनुसार जिल्लामा कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक–एक, बैङ्किङ कसुरका १४ तथा ठगी र मुद्रासम्बन्धी दुई–दुई वटा घटना दर्ता भएका छन्।

लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले कात्तिकमा १४ वटा मुद्दा दर्ता गरी संलग्नताको आरोपमा १७ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउनसुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुल पनि बरामद गरिएको छ। लागुऔषध दुरुपयोग नियन्त्रण तथा सचेतनाका लागि प्रहरीले ३१ वटा कार्यक्रम सञ्चालन गरी ५१४ जनालाई सचेत गराएको जनाएको छ।

अपराध न्यूनीकरण र शान्तिसुरक्षा प्रभावकारी बनाउन प्रहरीले जिल्लाका विभिन्न स्थानमा सिसिटिभी जडान, क्युआर तथा डिजिटल निगरानी प्रविधिको प्रयोग, सामाजिक सञ्जाल निगरानी, गोप्य सूचना सङ्कलन र नियमित गस्तीलाई तीव्रता दिएको छ।

यसका साथै मोबाइल क्विक रेस्पोन्स टोली परिचालन, सीमा क्षेत्रमा निगरानी तथा रात्रिकालीन समयमा वरिष्ठ प्रहरी अधिकृतको कमान्डमा चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ।

प्रहरीले आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको विगतको गतिविधि र घटनामा संलग्नताका आधारमा ३५ जनाको आपराधिक प्रोफाइलसमेत तयार गरेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।

Leave a Reply