वीरगञ्ज –  रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र नेपाल मेडिकल कलेज प्रा.लि., गोकर्णेश्वर, काठमाडौंले संयुक्त रूपमा ७५ लाख सहयोग प्रदान गरेका छन । नेपाल मेडिकल कलेज परिवार र नेशनल मेडिकल कलेज परिवारको संयुक्त योगदान स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (बाढी राहत) मा ७५ लाख रुपैयाँ जम्मा गरिएको हो ।

रसुवामा बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई राहत, उद्धार र आवश्यक मानवीय सहायता उपलब्ध गराउन सघाउने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरिएको संस्थाहरूले जनाएका छन् ।
स्वास्थ्य सेवामा निरन्तर समर्पित दुवै संस्थाले विपद्को कठिन घडीमा आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै रसुवाका प्रभावित नागरिकहरूको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूको संयुक्त योगदानले राहत वितरण, उद्धार कार्य तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मानवीय सेवाको भावनाबाट प्रेरित यस सहयोगले विपद्को समयमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा समुदायबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको छ । नेशनल मेडिकल कलेज, वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनहरूमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्को असरबाट प्रभावित नागरिकहरूको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवामूलक कार्यमा आफ्नो सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन ।

Leave a Reply