कृष्णउदास खनाल
वीरगन्ज,मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज चालु आर्थिक वर्षको ६ महिनामा पनि लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको छ ।हरेक महिना असफल हुदै आएको यस भन्सारले पुस महिनामा पनि भन्सार विभागले दिएको लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको हो । भन्सार विभागले पुस महिनाका लागि २१ अर्ब, ५१ करोड, ३९ लाख २६हजार राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा वीरगञ्ज भन्सारले पुस महिनामा जम्मा १२ अर्ब, ७४ करोड, १२ लाख, ८५ हजार रुपैया मात्रै राजश्व संकलन गर्न सफल भएको हो । पुस महिनामा पनि भन्सारले सबैभन्दा बढी मुल्य अभिबृद्धि करबाट ५ अर्ब, ४१ करोड, ३४ लाख, ८३ हजार रुपैयाँ राजश्व संकलन गरेको भने भन्सार महसुलबाट नै ४ अर्ब, ६६ करोड, ५९ लाख, १७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । पुस महिनासम्ममा वीरगञ्ज भन्सार कार्यालयले जम्मा ७४ अर्ब, ७४ करोड, ४७ लाख, ८० हजार राजश्व संकलन गरेको छ जुन लक्ष्यभन्दा कम हो । भन्सार विभागले पुस महिनासम्मका लागि एक खर्ब, २० अर्ब, ७ करोड, ६० लाख, ६८ हजार राजश्व संकलन गर्ने लक्ष्य वीरगञ्ज भन्सारलाई दिएको थियो ।अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा यस वर्ष समेत यो भन्सारले कम राजश्व संकलन गरेको हो । गएको आर्थिक वर्षको पुस मसान्तसम्ममा वीरगञ्ज भन्सारले ७६ अर्ब, ७४ करोड, ८८ लाख, २७ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको थियो ।सवारी साधन लगायतका बहुमुल्य सामानहरुको आयात घटेकाले पनि लक्ष्य अनुसारको राजश्व संकलनमा कठिनाइ भइरहेको वीरगञ्ज भन्सारका अधिकारीहरुको दाबी छ ।यो भन्सार पुस मसान्तसम्ममा सबैभन्दा बढी मुल्य अभिबृद्धि करबाट नै बढी राजश्व संकलन गरेको छ । पुस सम्ममा मुल्यअभिबृद्धि करबाट ३१ अर्ब, ७४ करोड, ९५ लाख, ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।



















