वीरगञ्ज,वीरगञ्जमा प्रहरी जवान विकास चौरसियाको हत्या विवाहेतर प्रेम सम्बन्धका कारण भएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।पर्साको कालिकामाई गाउँपालिका– १ मुडली घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय प्रहरी जवान चौरसियाको आइतबार साँझ वीरगन्ज–११ रानीघाटस्थित एक घरमा कुटपिट गरी हत्या गरिएको थियो ।
रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडिको फिरोज मियाँको घरमा डेरा लिएर बस्दै आएका रौतहटको माधवनारायण नगरपालिका– १ निवासी २६ वर्षीय सन्तोष साह र उनकी पत्नि २४ वर्षीया सोनी कुमारी साहको कोठामा चौरसिया गएका बेला त्यहि उनको कुटपिट गरि हत्या गरिएको थियो ।उक्त घटनामा संलग्न सन्तोष, उनकी पत्नि सोनी कुमारी, सन्तोषको नातामा भाई पर्ने बाराको महागढी नगरपालिका– ७ निवासी १९ वर्षीय विशाल साह र उनको साथी भारतको उत्तरप्रदेश प्रान्तको अलीगढ निवासी २१ वर्षीय ओमवीर प्रजापतिलाई प्रहरीले आइतबार नै साँझ पक्राउ गरिसकेको छ ।
अनुसन्धानका क्रममा प्रहरी जवान चौरसियाको हत्या सन्तोषकी पत्नि सोनीसंग उनको अनैतिक सम्बन्ध भएकै कारण खुलेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिनुभयो ।प्रहरीका अनुसार, चौरसिया र सोनीबीच अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि सन्तोषले चौरसियाको हत्याको योजना बनाएका थिए । उक्त योजना अनुसार नै आइतबार साँझ उनले आफ्ना नातामा पर्ने भाई विशाल र साथी ओवीरलाई आफ्नो कोठामा बोलाएर राखेका थिए ।
त्यसपछि सन्तोषले चौरसियालाई कोठामा बोलाउन पत्नि सोनीलाई फोन गराउन लगाएका थिए । सोनीले फोन गरेर बोलाएपछि उनको कोठामा चौरसिया पुगेपछि सन्तोष, सोनी, विशाल र ओमवीर चारै जनाले रडले हानेर कुटपिट गरेपछि घाइते भएका उनको मृत्यु भएको थियो ।घटनाबारे जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाठकले बताउनुभयो । उहाँले अहिलेसम्मको अनुसन्धानका क्रममा प्रहरी जवान चौरसियाको हत्या विवाहेतर सम्बन्धका कारण भएको र यसबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।


















