महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा एक महिलाको शव फेला परेको छ । स्थानीय ६५ वर्षीया विणामाया पुलामी शुक्रबार बिहान मृत अवस्थामा भेटिएकी हुन् ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माका अनुसार पुलामी बिहीबार घाँस काट्न घरबाट निस्किएकी थिइन् । उनी शुक्रबार बिहान उखुबारीमा मृत फेला परेकी हुन् ।
शवको अवस्था हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी निरीक्षक विश्वकर्माका अनुसार मृतकको घाँटीमा गम्छाले कसेको जस्तो देखिएको छ ।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

















