काठमाडौं ,रौतहट क्षेत्र नम्बर २ का सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिनुभएको छ । संघीय संसद सचिवालयका अनुसार यस अगाडि संस्कृत भाषामा शपथ लिएको रेकर्ड छैन् । संसद सचिवालयका पूर्वमहासचिव सूर्णकिरण गुरुङ नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा माननीयले शपथ लिएको पहिलो पटक भएको बताउँनुभयो ।‘पहिले नेपाली भाषामै शपथ हुन्थ्यो । ०६४ पछि अन्य भाषामा शपथ लिने अभ्यास सुरु भएको हो । यसपटक संस्कृतमा एक जनाले शपथ लिनुभएको छ । यो पहिलो पटक नै हो’ पूर्वमहासचिव गुरुङले भन्नुभयो ।पहिलो पटक संस्कृत भाषामा शपथ लिने माननीय साहको आफ्नै मातृ भाषा भने बज्जिका हो । तर, उहाँले विद्यालयमा कक्षा ७ सम्म संस्कृति पढनुभएको छ । ‘मैले संस्कृत भाषाका अरु केही किताब अलिअलि पढेको छु । तर नेपालमा संस्कृत भाषाको पढाइहोस्, लागू होस् र यो अगाडि बढोस् चाहना छ’, शपथपछि उहाँले भन्नुभयो ।हिन्दूत्व झल्किने गेरुवा पोशाक लगाएर संसद पुगेका साहले संस्कृत भाषामा शपथ लिनुका अरु कारण पनि छन् । उहाँले भन्नुभयो, ‘नेपालको परम्परा बचाउन, विदेशी भाषाको दबाव र प्रभाव घटाउँदै राष्ट्रिय एकता र अखण्डता बचाउन पनि संस्कृत भाषामा शपथ लिइयो ।’



















