कलैया,सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो । काठमाडौं उपत्यकाका साथै उपत्यका बाहिर बनेपा, धुलिखेल, चितवन, बिराटनगर, इटहरी, धरान, वीरगञ्ज, जनकपुर, भैरहवा, पोखरा, बुटबल, नेपालगञ्ज, धजगढी, भीमदत्त नगर लगायतका उच्च जोखिम रहेका जिल्ला सदरमुकामहरुमा विद्यालय बन्द गरी अनलाइनबाट अध्ययन, अध्यापन गराइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढेसँगै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर निर्णय नभएपछि मन्त्रालयले १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो ।