काठमाडौं । हरिबोधिनी एकादशीको अवसरमा आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाका चार नारायण मन्दिर, बूढानीलकण्ठ नारायणस्थानलगायत देशका विभिन्न धार्मिकस्थलमा पूजाआजा र दर्शन गर्ने भक्तजनको लाम लागेको हो ।

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीलाई भगवान् विष्णु योगनिद्राबाट जागा हुने दिनका रूपमा लिने धार्मिक मान्यता छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज जागा हुने विश्वासका साथ भक्तजनले बिहानैदेखि विशेष पूजाआराधना गरिरहेका छन् ।

यस अवसरमा उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो भीड लागेको छ । यी चारवटै मन्दिरलाई चार नारायणका रूपमा चिनिन्छ । एकैदिन चार नारायणको दर्शन तथा पूजाआजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यही विश्वासका कारण टाढाटाढाबाट समेत भक्तजन सवारीसाधन रिजर्भ गरेर दर्शनका लागि आउने गरेका छन् ।

बूढानीलकण्ठमा हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात् मंसिर ८ गतेसम्म विशेष धार्मिक मेला सञ्चालन हुनेछ । जलकुण्डमाथि भगवान् नारायण शयन गरिरहेको आकर्षक मूर्तिका कारण यो स्थान धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ ।

Leave a Reply