निजगढ,निजगढ नगरपालिकाको बकैया खोलामा अबैधरुपमा भईरहेको नदीजन्य पदार्थ उत्खनन रोक्न प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले निर्देशन दिनुभएको छ । निजगढको बकैया खोलाको अनुगमन गर्दै प्रजिअ घिमिरेले मंगलवार निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलालाई खोलाबाट भइरहेको अबैध उत्खनन तत्काल रोक्न निर्देशन दिनुभएको हो ।
स्थलगत अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले खोलाको अबस्था हेर्दा राज्य छ भन्ने अनुभुति नै नहुने गरी दोहन भएको बताउनुभएको छ । अबैध रुपमा भइरहेको उत्खननको अनुगमन गर्न प्रजिअ घिमिरेसहितको टोलीले खोलामा पुगेको थियो ।
अनुगमन टोलीमा प्रजिअ घिमिरेसहित जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफले, सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डागी, डिभिजन वन कार्यालय बाराका सूचना अधिकृत जवाहरलाल प्रसाद कुर्मीलगायतको सहभागिता रहेको थियो ।


















