काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन संविधान र कानुनको व्यवस्थाअनुसार स्वच्छ, निष्पक्ष तथा पारदर्शी रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा उनले मतदाताले निर्बाध रूपमा मतदान गर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनबारे गुनासा आएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यस्ता समस्या दोहोरिन नदिन आयोगलाई आग्रह गरे ।
प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मङ्सिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको बताए । यद्यपि, यसबारे पार्टीभित्र थप छलफल गरेर अन्तिम धारणा बनाउने उनको भनाइ छ ।
उनले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न पनि सरकार र निर्वाचन आयोगले आवश्यक पहल गर्नुपर्ने बताए ।

















