कलैया,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बाराको आज आयोजित विस्तारित बैठकमा उत्पन्न विवादपछि कार्यकर्ताहरुले सांसदहरुमाथि दुव्र्यवहार गरेका छन ।जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले जिल्लाबाट निर्वाचित सांसदहरूविरुद्ध प्रदर्शन गरेपछि बैठकमा विवाद उत्पन्न भएको हो । बैठकमा तनाव बढ्दै गएपछि प्रतिनिधिसभा सदस्यहरू बैठक स्थलबाटै बाहिरिन बाध्य भएका थिए ।

कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित विस्तारित बैठकमा बाराका निर्वाचन क्षेत्र नं. १ का सांसद गणेश धिमाल, क्षेत्र नं. २ का चन्दन सिंह, क्षेत्र नं. ३ का अरविन्द साह, क्षेत्र नं. ४ का रहबर अन्सारी तथा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीलगायत केन्द्रीय नेताहरू सहभागी थिए ।बैठकमा जिल्ला समितिका संस्थापक अध्यक्ष स्वर्णकार पक्षलाई दबाबमा पार्ने प्रयास भएपछि विवाद चर्किएको सहभागीहरूले बताएका छन् । बैठकमा झडपको अवस्था सिर्जना हुदाँ तीन जना घाइते भएको बताइएको छ । विवाद बढ्दै जाँदा प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ ।
रास्वपाले केही दिनअघि संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता समेत खारेज गरेपछि जिल्लाभित्र विवाद चुलिदै आएको थियो । यसलाई पार्टीका पुराना कार्यकर्ता र सांसदहरूबिचको रुपमा चित्रण हुदैआएको थियो ।
गत निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई असहयोग गरेकोभन्दै जिल्लाबाट निर्वाचित चारै जना सांसदले पूर्वसभापती स्वर्णकारमाथि कारबाही गर्न लिखित पत्र पठाएपछि केन्द्रीय सचिवालयको बैठकले जिल्ला समिति भङ्ग गरेर स्वर्णकारको सदस्यता समेत निलम्बन गर्ने निर्णय गरेको थियो ।पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरिएको केन्द्रीय कार्यालय संगठन विभागका सचिव शंकर श्रेष्ठद्वारा जेठ ६ गते प्रेषित पत्रमार्फत जानकारी गराइएको थियो ।बारा जिल्लाबाट निर्वाचित रास्वपाका सांसदहरूले चुनावका बेला स्वर्णकारले आफूहरूलाई हराउन षडयन्त्र गरेको आरोप लगाउँदै आएका छन । निलम्बनको घटनापछि पार्टीका पुराना कार्यकर्ता र स्वर्णकारका समर्थकहरु रुष्ट बन्दैआएका थिए । विस्तारित बैठकमा पनि सोही विषयलाई लिएर कार्यकर्ताहरूले सांसदहरूको विरोध गरेका थिए ।
बैठकमा सहभागी रास्वपाका स्थानीय एक नेताका अनुसार अन्य पार्टीबाट आएर सांसद बनेकाहरूले पुराना र निष्ठावान् कार्यकर्ताहरूलाई कारबाही गरेर पार्टीबाट निकालेका हुन । ‘विभिन्न पार्टीबाट आएर माननीय भएकाहरूले पुराना तथा युवा कार्यकर्ताहरूलाई उपेक्षा गरेको भन्ने गुनासो थियो, उनले भने, त्यसैले अघिल्लो कार्यसमितिका सदस्यहरूले सांसदहरूप्रति विरोध जनाएका हुन् ।’सदस्यता खारेज गर्ने निर्णय विरुद्ध स्वर्णकारले पनि आपत्ति जनाएर सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्नुभएको थियो । उहाँले आफूलाई अन्यायपूर्ण तरिकाले पार्टीबाट हटाइएको र ‘राजनीतिक हत्या’ गरिएको बताउनुभएको थियो ।
‘सांसदहरु लखेटिएको समाचार भ्रामक’
निजगढ,रास्वपाले आफ्ना सांसदहरु कार्यक्रम स्थलबाट लखेटिएको भन्ने समाचार भ्रामक भएको बताएको छ ।घटनापछि सो पार्टीका मधेस प्रदेशका महामन्त्री मनिषकुमार साहले विज्ञप्ति निकालेर सामाजिक संजाल तथा विभिन्न माध्यममार्फत राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्लामा सम्पन्न कार्यक्रममको बारेमा भ्रामक, अतिरञ्जित तथा तथ्यहीन समाचारहरु प्रचार–प्रसार भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाउदै समाचार भ्रामक भएको बताउनुभएको हो ।
‘विशेष गरि कार्यक्रमका क्रममा माननीय सांसदहरु ‘लखेटिएको’ भन्ने आशयका समाचारहरु पूर्णरुपमा असत्य, भ्रम फैलाउने तथा जनतालाई गलत सूचना प्रवाह गर्ने उदेश्यले प्रचार गरिएको स्पष्ट पार्न चाहन्छु’, विज्ञप्तिमा भनिएको छ, कार्यक्रमको अन्ततिर एउटा समूह हलमा प्रवेश गरेको र भीड अत्यधिक भएको हुनाले कार्यक्रम सकेर माननीय तथा नेतागण बाहिर निस्कने क्रमको भिडियो र पार्टी सदस्यहरुको फरक मत अभिव्यक्तिलाई जोडेर पार्टीलाई बदनाम गर्ने नियतले प्रयोग गरिएको प्रस्ट हुन्छ ।’
सहमहामन्त्री साहले आफ्नो पार्टी सधै पारदर्शिता, सत्य सूचना र लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिवद्ध रहेकी जानकारी गराउँदै अपुष्ट तथा भ्रामक समाचारले राजनीतिक संस्कार, सामाजिक सद्भाव तथा जनविश्वासमा नकारात्मक असर पार्ने भएकोले सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न संचार माध्यम, सामाजिक संजाल प्रयोगकर्ता तथा सरोकारवालाहरुमा आग्रह पनि गर्नुभएको छ ।



















