ललितपुर । ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक लागुऔषध खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले उनलाई ८८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राज रसाइली छन्। उनीसँगै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २७ वर्षीय समिर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाइबा र भारतको बिहारका २२ वर्षीय कमलेशकुमार शाह पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, दुई थान डिजिटल तराजु, दुई लाख ८० हजार रुपैयाँ नगद र चार थान मोबाइल फोन बरामद गरेको छ।

ब्युरोका अनुसार उपत्यकामा लागुऔषध अपराधविरुद्ध सञ्चालन गरिएको विशेष अभियानका क्रममा केही दिनअघि गोकर्णेश्वरबाट समिर र दिनेश पक्राउ परेका थिए। उनीहरूसँगको बयानका क्रममा राज रसाइलीबाट लागुऔषध खरिद गर्ने गरेको खुलेपछि प्रहरीले रसाइलीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार राज करिब एक वर्षदेखि जेम्स स्कुलको बस चालकका रूपमा कार्यरत थिए। उनी स्वयं पनि लागुऔषध सेवनकर्ता रहेको खुलेको छ। लागुऔषध सेवन गरेरै उनले विद्यार्थी बोकेको बस चलाउने गरेको हुनसक्ने प्रहरीको आशंका छ।

ब्युरोका प्रवक्ता रेग्मीका अनुसार भारतबाट लागुऔषध ल्याएर राजलाई उपलब्ध गराउने काम कमलेशकुमार शाहले गर्थे। सिरहा–काठमाडौँ चल्ने सवारीसाधनमा सहचालकका रूपमा काम गर्ने शाहले भारतबाट लागुऔषध भित्र्याएर राजलाई बिक्री गर्ने र राजले उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Leave a Reply