जनकपुरधाम । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर, व्यवस्थित र आकर्षक सहरका रूपमा विकास गर्न सरकारले विशेष अभियान अघि बढाएको बताएका छन् ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लम्सालले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण तथा व्यवस्थित व्यवस्थापन गरिने जानकारी दिए । यसका लागि बजेटको अभाव हुन नदिने उल्लेख गर्दै उनले जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको दाबी गरे ।
चालु आर्थिक वर्षको बजेटमा जनकपुरधामको सौन्दर्यीकरण र व्यवस्थित सहरी विकासलाई प्राथमिकता दिइएको उनको भनाइ थियो । आगामी चैत–वैशाखसम्म जनकपुरधाममा विकासको अनुभूति हुने गरी उल्लेखनीय परिवर्तन देखिने उनले बताए ।
मन्त्री लम्सालले सहरको समग्र विकासका लागि आवश्यक पूर्वाधार निर्माण तथा सुधारमा क्रमशः लगानी बढाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
यसैगरी, विवाहपञ्चमी महोत्सवलाई थप आकर्षक र भव्य बनाउन बजेट व्यवस्थापनबारे छलफल भइरहेको उनले जानकारी दिए । पर्यटन बोर्डमार्फत आवश्यक बजेट जुटाउन सकिने उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई आवश्यक योजना र लागत विवरणसहित प्रस्ताव तयार पार्न आग्रह गरे ।
प्राविधिकहरूसँग समन्वय गरी बजेट तथा कार्यक्रमको विस्तृत योजना बनाउन निर्देशन दिँदै मन्त्री लम्सालले विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
















