काठमाडौं । आसन्न निर्वाचनको तयारी र निर्वाचन प्रक्रियाबारे छलफल गर्न निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाएको छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा छुट्टाछुट्टै चरणमा सञ्चालन गर्ने भन्ने विषयमा दलहरूको धारणा बुझ्न प्रमुख नेताहरूसँग छलफल गर्न लागेको हो ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भएका छन् ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले आयोगको छलफलमा सभापति लामिछाने सहभागी हुने जानकारी दिएका छन् । त्यसैगरी, कांग्रेस महामन्त्री प्रदीप पौडेलले सभापति थापा सहभागी हुने बताएका छन् ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले पनि अध्यक्ष ओली छलफलमा सहभागी हुने जानकारी दिएका छन् । प्रचण्डको सचिवालयले समेत पार्टी संयोजक दाहाल आयोगको छलफलमा जाने जनाएको छ ।
निर्वाचनको स्वरूप र व्यवस्थापनबारे राजनीतिक दलहरूको सुझाव तथा धारणा संकलन गर्ने उद्देश्यले आयोगले शीर्ष नेताहरूसँग छलफल गर्न लागेको हो ।
















