मनोज शाह
जीतपुर,बारा जिल्ला क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार तथा पूर्वमन्त्री ज्वाला शाहले फतेहपुर क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । चुनावी अभियानअन्तर्गत सञ्चालन गरिएको घरदैलो कार्यक्रममा स्थानीय जनताको उत्साहजनक सहभागिता देखिएको थियो ।फत्तेहपुर बजारबाट सुरु भएको घरदैलो कार्यक्रम शान्ति टोल, सिम्री टोल, राय टोल लगायत विभिन्न बस्तीमा पुगेको थियो । कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले नाराबाजी गर्दै उम्मेदवार शाहप्रति समर्थन जनाएका थिए । “सूर्य छाप जिन्दावाद”, “ज्वाला शाह जिन्दावाद” लगायतका नाराले क्षेत्र नै चुनावी माहोलमय बनेको थियो ।
स्थानीय सीता माझीले नेकपा एमालेले नै वृद्धाभत्ता तथा विकासको लहर चलाएको उल्लेख गर्दै आगामी दिनमा पनि विकासलाई निरन्तरता दिन एमाले आवश्यक रहेको बताउनुभयो । घरदैलोका क्रममा स्थानीय महिला समूहले ज्वाला शाह सुख–दुःखमा सधैं साथ दिने नेता भएको भन्दै आफूहरू जहाँ भएपनि शाहलाई नै समर्थन रहने प्रतिक्रिया दिनुभएको छ ।
घरदैलो कार्यक्रममार्फत उम्मेदवार शाहले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, सामाजिक सुरक्षा र स्थानीय समस्याको समाधान आफ्नो प्राथमिकतामा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि थप तीव्र बन्दै गएको देखिएको छ ।















