कलैया,नगर प्रमुख उपेन्द्रप्रसाद यादव र उपप्रमुख तारादेबी कानुसहित कार्यपालिकाका बहुमत सदस्यहरु बीचको असमझदारीले महागढीमाई नगरपालिकामा विवाद बढदै गएको छ । कार्यपालिका सदस्यहरुबीच चुलिएको विवादका कारण चालू आर्थिक वर्षको नगरसभा अन्यौलमा परेको छ ।

गत स्थानीय निर्वाचनमा आफ्नै पार्टी (नेपाली कांग्रेस) बाट उपप्रमुख पदमा विजयी कानुलाई समेत प्रमुख यादवले विश्वासमा लिन नसकेपछि नगरपालिकामा असमझदारी बढेको हो ।

नगरपालिकामा अहिले प्रमुख यादव र उपप्रमुख कानुसहित कार्यपालिकका बहुमत सदस्यहरु दुई ध्रुबमा विभाजित बनेका छन । कार्यपालिकामा भने नेकपा एमाले र जनता समाजवादी पार्टीको बहुमत छ । मेयर यादव र कार्यपालिका बहुमत सदस्यहरुबीचको विवादले निर्वाचन सम्पन्न भएको ४ महिना बित्न लागिसक्दा पनि नगर सभाको आयोजना हुन सकेको छैन । नगरसभा हुन नसक्दा चालू आर्थिक वर्षको बजेट पारित हुन नसकेको मात्रै होइन, नगरपालिकाका कर्मचारी, शिक्षकको तलब र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको भत्ता वितरणसमेत हुन सकेको छैन ।

अल्पमतमा रहेका नगर प्रमुख यादवले सबैको सहमतिमा काम गर्नुको साटो एकलौटी र मनोमानी रुपमा काम गर्न खोजेपछि नगरपालिकामा विवाद चुलिएको उपप्रमुख कानुले बताउनुभयो । अल्पमतमा परे पनि नगर उपप्रमुख कानु र कार्यपालिकाका सदस्यहरुलाई बेवास्ता गदैै अघि बढन खोजेपछि मेयर यादवलाई नगर सभा गर्न समस्या भएको बताइएको छ ।

आफ्नै पार्टीबाट विजयी उप्रमुखलाई समेत मेयर यादवले बेवास्ता गरेको आरोप छ । ‘म कार्यपालिका सदस्यहरुलाई विश्वासमा लिएर काम गर्नुपर्ने पक्षमा छु, उपप्रमुख कानुले भन्नुभयो, तर मेयर यादवले अन्य दलबाट निर्वाचित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको त कुरै छाडौं एउटै दलबाट निर्वाचित ममाथि समेत शंका गर्नुभएको छ ।’ उहाँले निर्वाचन लगत्तै भएको कार्यपालिका सदस्य चुनावताकादेखि नै मेयर यादवले आफूमाथि शंका र अविश्वास गर्दै आएको पनि बताउनुभयो ।

महागढीमाईमा नेपाली कांग्रेशले मेयर र उपमेयरमा जित हात पारे पनि वडा अध्यक्षमा भने एमाले र जसपाको बहुमत रहेको थियो । कार्यपालिकाको सदस्य निर्वाचनको क्रममा उपमेयर कानुलाई मतदान गरेको मतपत्र आफूलाई देखाउन मेयर यादव आग्रह गरेपछि निर्वाचनमा एउटै पार्टीबाट विजयी बनेका दुबैजना बीच अविश्वास सुरु भएको थियो ।

आफूले मतदान गरे पनि कार्यपालिका सदस्यमा कांग्रेश उम्मेदवारहरु पराजित बनेपछि मेयर यादव अराजनीतिक रुपमा प्रस्तुत हुन थालेको र आफूमाथि बारम्बार अभद्र व्यवहारसमेत हुदै आएको उपमेयर कानुले बताउनुभयो । कार्यपालिकाको सबै सदस्यमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारहरु विजयी बनेका थिए । उपमेयर कानुको कार्यकक्षमा मेयर यादवले सुनियोजित ढङ्गले तोडफोड गर्न लगाएको आरोप पनि छ । गन्जभवानीपुरमा निर्माणाधिन प्राथमिक स्वास्थ्य केन्द्रको सामान्य विषयलाई बहाना बनाएर आफ्ना नजिकका केही महिलाहरुलाई प्रयोग गरेर मेयर यादवले उपमेयर कानुको कार्यकक्षको ढोका तोडफोड गर्न लगाएको मेयर यादवमाथि आरोप लाग्दै आएको छ ।

११ वटा वडा रहेको महागढीमाई नगरपालिकामा नेपाली कांग्रेश र नेकपा एमालेबाट ४÷४ जना वडा अध्यक्ष विजयी बनेका छन । त्यसैगरी जसपाबाट २ र नेपाल कम्युष्टि पार्टी एकिकृत समाजवादीबाट पनि १ जना वडा अध्यक्षमा विजयी भएकाछन । नगर कार्यपालिका सदस्यको निर्वाचनपछि भने नगर कार्यपालिकामा विपक्षी दलहरुको २ तिहाइले बढी मत रहेको छ ।

अल्पमतमा परेपछि नगर प्रमुख यादवले एकलौटी रुपमा नगरसभा गराउने असफल प्रयास पनि गर्नुभएको थियो ।

नगरपालिका बोर्डमा अल्पमतमा परेपछि सबैको सहमतिमा काम गर्नुको विकल्प नभएको उपप्रमुख कानुको भनाइ छ ।

मेयर यादवको अराजनीतिक र असहिष्ण र व्यवहारले नगरपालिका अस्तव्यस्त हुने अवस्थामा पुगेको कार्यपालिकाका एक सदस्यले बताएका छन । उनले मेयर यादवले बहुमतलाई पेलेर जाने नीति लिएको भए पनि आफूहरु पनि कानुन विपरीत त्यसै चुप लागेर नबस्ने बताए ।

Leave a Reply