कलैया,बाराको प्रर्सौनीस्थित पानी उद्योगका प्रबन्धकको हत्या प्रकरणमा संलग्न अभियुक्तलाई १६ घण्टाभित्रै पक्राउ गर्न सफल जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब निरीक्षक दीपककुमार बस्नेत मङ्सिर महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानमा देखाएको कार्यक्षमताको कदर गर्दै बस्नेतलाई मङ्सिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्नुभएको छ ।बस्नेत हाल बारा प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत हुनुहुन्छ ।गत मङ्सिर १२ गते बाराको प्रसौनी गाउँपालिका ६ भलुहीस्थित किरण वेभरेज प्रालिका प्रबन्धक रामकिशोर सिंहको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा उद्योग नजिकै शव फेला परेको थियो ।

सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर २ घर भएका ५० वर्षीय सिंहको हत्या घटनापछि बस्नेतको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको थियो ।अनुसन्धान टोलीले घटनामा संलग्न वीरगन्ज महानगरपालिका २२ का २१ वर्षीय राजन राम र ३२ वर्षीय प्रमोद साह तुरहालाई नेपाल–भारत सीमा क्षेत्रबाट १६ घण्टाभित्रै पक्राउ गर्न सफल भएको हो । हत्या पश्चात् उनीहरू भारततर्फ फरार भएका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका राम उक्त पानी उद्योगमा चालकको रूपमा कार्यरत थिए। आचरण राम्रो नभएको भन्दै प्रवन्धक सिंहले उनलाई कामबाट निकालेपछि रिसको आवेगमा हत्या गरेको बयान रामले प्रहरीसमक्ष दिएका छन् । घटनामा संलग्न दुवै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply