काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ । बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँमा झरेको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ कायम भएको छ । त्यसैगरी, १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ निर्धारण गरिएको छ ।
सुन र चाँदी दुवैको मूल्य घटेपछि नेपाली बजारमा बहुमूल्य धातु खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ ।















