बारा
मालपोत कार्यालय कलैया र सिमरा बाराले आर्थिक वर्ष ०७८÷७९ मा १ अर्ब छ करोड १७ लाख ८२ हजार २८३ रुपियाँ राजस्व संङ्कलन गरेको जनाएको छ । मालपोत कार्यालय बाराले बिगत केही वर्षदेखि जिल्लाको कलैया बाहेक जितपुर सिमराबाट पनि घर, जग्गाको कारोबार गर्न कार्यालय स्थापना गरी सेवाग्रहीहरुको सेवा सुविधा दिनुको साथै राजस्वमा वृद्धि गरेको जनाएको हो ।
सिमरा मालपोत कार्यालयले जितपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिका गरी दुई स्थानीय पालिकाबाट आर्थिक वर्ष ०७८/७९ मा ५१ करोड १३ लाख ७१ हजार ७७० रुपियाँ राजस्व सङ्कलन गरेको प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्ला मालपोत कार्यालय कलैयाले १४ वटा पालिकाबाट मात्र ५५ करोड ४ लाख १० हजार ५१३ रुपियाँ राजश्व सङ्कलन गरेको छ ।
पथलैयादेखि पर्सा जिल्लाको वीरगन्जसम्म निर्माण भएको छ लाइन सडक आसपास क्षेत्रमा थोरै जग्गा खरिद गरी घर बनाउनु भन्दा पनि प्लटिङ्ग र उद्योग स्थापनाको लागि जग्गाको कारोबार बढी हुने गरेको उहाँले बताउनुभयो ।
यसैगरी जिल्ला मालपोत कार्यालय बाराले आर्थिकबर्ष ०७८/७९ मा छ वटा शिर्षकको गरी कुल ५५ करोड ४ लाख १० हजार ५१३ रुपियाँ राजश्व सङ्कलन गरेको लेखापाल छोटेबाबु प्रसाद यादवले बताउनुभयो । गतवर्ष ०७७÷७८ मा ३२ करोड २९ लाख ८५ हजार ३८४ रुपियाँ राजस्व सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो ।