काठमाडौं । राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज शुक्रबार बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । कतारको दोहामा जारी प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा भारत ‘ए’ को सामना गर्न लागेको हो ।
दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली भारतलाई चुनौती दिने लक्ष्यसहित मैदान उत्रिनेछ ।
प्रतियोगिताअघि भारत ‘ए’ का कप्तान तिलक वर्माले नेपाली क्रिकेटको प्रशंसा गरेका छन् । उनले पछिल्ला वर्षहरूमा नेपालले क्रिकेटमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै नेपाल र अफगानिस्तानसँगको प्रतिस्पर्धा रोमाञ्चक हुने बताएका छन् ।
नेपाली टोलीमा अनुभवी खेलाडी र युवा प्रतिभाको संयोजन छ । कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, देव खनाल र लोकेश बम टोलीका प्रमुख खेलाडी हुन् ।
ब्याटिङमा कुशल भुर्तेल र लोकेश बमबाट नेपालले ठूलो अपेक्षा गरेको छ । जारी नेपाल प्रिमियर लिग ९एनपीएल० मा लोकेशले २४२ रन बनाउँदै सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थान हासिल गरेका छन् । त्यस्तै, कुशलले पनि २३५ रन बनाउँदै राम्रो लय देखाएका छन् ।
बलिङतर्फ सन्दीप लामिछाने र ललित राजवंशी नेपालको मुख्य हतियार बन्न सक्छन् । चोटका कारण सोमपाल कामीले प्रतियोगिता गुमाउने भएपछि उनको स्थानमा प्रतिश जिसीलाई टोलीमा राखिएको छ । यसअघि भ्रमण टोलीको वैकल्पिक खेलाडीका रूपमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा समावेश गरिएको छ ।
यता, भारत ‘ए’ को टोली पनि निकै बलियो देखिएको छ । टोलीमा अन्तर्राष्ट्रिय तथा इन्डियन प्रिमियर लिग ९आईपीएल० को अनुभव भएका खेलाडी छन् । आक्रामक ब्याटर अभिषेक शर्मा, युवा खेलाडी वैभव सूर्यवंशी, विस्फोटक फिनिसर रिंकु सिंह र तीव्र गतिका बलर हर्षित राणा भारतीय टोलीका प्रमुख आकर्षण हुन् ।
नेपाल र भारत ‘ए’ बीच यसअघि सन् २०२३ को इमर्जिङ टिम्स एसिया कपमा प्रतिस्पर्धा भएको थियो । श्रीलंकाको कोलम्बोमा भएको उक्त खेलमा भारत ‘ए’ ले नेपाललाई ९ विकेटले पराजित गरेको थियो । नेपालले दिएको १६८ रनको लक्ष्य भारतले एक विकेट गुमाएर पूरा गरेको थियो ।
एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको नेपाल समूह ‘बी’ मा रहेको छ । भारत ‘ए’ विरुद्धको खेलपछि नेपालले आइतबार यूएई र मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
भारत ‘ए’ विरुद्धको आजको खेल नेपालका लागि प्रतियोगिताको सुरुआतमै आफ्नो क्षमता प्रमाणित गर्ने महत्वपूर्ण अवसर हुनेछ ।
















