निजगढ,होटल तथा पर्यटन व्यवसायी संघ, निजगढ नगर इकाइको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
निजगढ– ७ स्थित फायरउड होटलमा आयोजित एक कार्यक्रमका बीच राजकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई होटल तथा पर्यटन व्यवसायी संघ बाराले प्रमाण पत्र प्रदान गरेको हो ।कार्यक्रममा संघका जिल्ला अध्यक्ष शम्भु खड्गी, संघका पूर्वअध्यक्ष मोहन शर्मा लामिछानेले लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।
प्रमाण–पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खड्गीले निजगढको शक्तिखोला सहितका पर्यटकीय गन्तव्य बनाउन पहल गरिहेको बताउनुभएको थियो । उहाँले ईकाइ समितिलाई साथ दिन जिल्ला समिति सधैं तयार रहने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहनुभएका होटल तथा पर्यटन व्यवसायी संघ बाराका पूर्व अध्यक्ष मोहन शर्मा लामिछानेले होटल व्यवसायलाई राम्रो बनाउन पर्यटन विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले व्यवसायिहरु बीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा बताउनुभएको छ ।
निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले उद्योग नीति बनाउन पहल भइरहेको भन्दै त्यो हुन नसक्दा व्यवसाय धरासायी भइरहेको बताउनुभएको छ ।निर्वाचन मण्डलका संयोजक सरोज कोइरालाले व्यवसायी संघको कार्यालय सञ्चालनका एक वर्षसम्म निःशुल्क कोठा उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले होटल क्षेत्रलाई आवश्यक पर्ने तालिम सञ्चालन गर्न प्राविधिक रुपमा सहयोग गर्ने समेत बताउनुभयो ।
पत्रकार महेश्वर अधिकारीले व्यवसायिहरुले अपेक्षा गरे अनुसारको काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । नव निर्वाचित अध्यक्ष राजकुमार श्रेष्ठले निजगढ प्राकृतिक हिसाबले सबल भएपनि होटल व्यवसाय पछाडि पर्नुमा व्यवसायीको बीचमा एकता हुन नसक्नु मुख्य कारण रहेको बताउनुभएको छ ।
कार्यक्रमको सहजीकरण निजगढ इकाईका निवर्तमान अध्यक्ष रामकृष्ण घिमिरेले गर्नुभएको थियो ।कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ, बाराका वरिष्ठ उपाध्यक्षमा प्रलाद उप्रेती, उपाध्यक्ष गोविन्द गहतराज, महासचिव लक्ष्मण अधिकारी र कोषाध्यक्ष कल्याणी गौतमको उपस्थिति रहेको थियो ।


















