संबिधानतः नेपाल धर्म निरपेक्ष छ । यहाँ हरेक नागरिकहरुले आफूले चाहेको धर्म मान्न पाउँछन् यो कुरा संबिधानले नै प्रत्याभूत गरिदिएको छ । तर आफूलाई मन परेको धर्म मान्न पाए पनि अर्काको धर्मको अपमान भने गर्न पाइदैन यो कुरा पनि संबिधानमा उल्लेख छ ।त्यसो त नेपाल एक जात र एक धर्म भएको देश पनि होइन । बहुल जात, संस्कृति र धर्म भएकाले पनि यो देशमा संबिधानमा नै धर्म निरपेक्षताको कुरा राखिएको हो । यद्यपि केही हिन्दुवादीहरुले यसको विरोध गर्दै आइरहेका छन् ।

फेरि तराई मधेसको सवालमा त यो कुरा झनै महत्वपूर्ण छ । बारा, पर्सा तथा रौतहट जिल्लाकै कुरा गर्ने हो भने पनि यहाँ विभिन्न धर्म मान्ने मानिसहरुको बसोवास छ । कसैले हिन्दू धर्म मान्छन् त कसैले मुस्लिम । समाजमा सबै मिलेर बसेको नै देखिन्छ । यहाँ धर्मको नाउँमा विवाद गर्नुपर्ने आवश्कयता र कारण दुुबै छैन । किन भने धर्म मानिसको आफ्नो इच्छा हो, जहाँ कसैको करकाप हुनुहुदैन ।

यति कुरा थाहा हुदाँहुदै पनि एउटा वर्ग धर्मको नाउँमा समाजमा अराजकता मच्चाउन सकिन्छ कि भनेर चासो दिइरहेको हुन्छ । यस्तै अभ्यास रौतहटमा केही दिनअगाडि भएको छ र यसको असर वीरगञ्जमा पनि देखिने पनि खतरा बढेपछि स्थानीय प्रशासनले कडाइ गरेर कफर््यू लगाएको छ । यो अवस्थासम्म आउनु नै दुःखद हो, तैपनि वीरगञ्जवासीसहित सबैले यस्तो विषयमा धैर्य गरेर संयमता अपनाउन र सद्भाव कायम राख्न एकदमै आवश्यक छ ।

Leave a Reply