रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामै राजस्व सङ्कलनको लक्ष्य पार गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म कार्यालयले १६ करोड ६९ लाख ३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले यस अवधिमा निर्धारित लक्ष्यको १२४.३७ प्रतिशत राजस्व असुली गरेको छ । अर्थात् लक्ष्यभन्दा करिब २४ प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।
गौर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उपसचिव शुभन शर्माका अनुसार पहिलो चार महिनाको राजस्व सङ्कलन सन्तोषजनक रहेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार साउन महिनामा ३ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ३ करोड ५८ लाख ३३ हजार रुपैयाँ असुली भएको थियो । यो निर्धारित लक्ष्यको ११३.७६ प्रतिशत हो ।
त्यस्तै, भदौमा ३ करोड ६० लाख रुपैयाँ लक्ष्य रहेकामा ३ करोड २४ लाख ८ हजार रुपैयाँ मात्रै सङ्कलन भएको थियो । उक्त महिनामा लक्ष्यको ९०.३ प्रतिशत मात्रै राजस्व उठेको थियो ।
असोज महिनामा भने राजस्व सङ्कलनमा उल्लेख्य सुधार देखिएको थियो । सो महिनाका लागि ४ करोड ५० लाख रुपैयाँ लक्ष्य निर्धारण गरिएकामा ५ करोड ९७ लाख ३९ हजार रुपैयाँ सङ्कलन भएको थियो । यो लक्ष्यको १४७.५० प्रतिशत हो ।
यसैगरी, कात्तिक महिनामा २ करोड ७० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ३ करोड ९९ लाख २३ हजार रुपैयाँ असुली भएको कार्यालयले जनाएको छ । यो निर्धारित लक्ष्यको १४७.८० प्रतिशत हो ।
चार महिनाको अवधिमा भदौबाहेक साउन, असोज र कात्तिकमा कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको देखिन्छ । विशेषगरी असोज र कात्तिकमा लक्ष्यको तुलनामा उल्लेख्य बढी राजस्व उठेको छ ।
प्रमुख भन्सार अधिकृत शर्माका अनुसार भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रियता तथा नियमित गस्तीले सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी र पैठारी नियन्त्रणमा सहयोग पुगेको छ । सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि गरिएको निगरानीले राजस्व सङ्कलन बढाउनसमेत योगदान पुर्याएको उनले बताएका छन् ।

















