वीरगन्ज,नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले आगामी निर्वाचनमा सर्त सहित गठबन्धन हुने बताउनु भएको छ ।

वीरगन्जमा बुधबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य कोइरालाले काँग्रेसको केन्द्रीय समितिले निर्णय गरेका तीन सर्त गठबन्धनका अन्य दलहरुले माने मात्रै आगामी निर्वाचनमा चुनावी तालमेल हुने बताउनुभयो ।

आर्थिक नीति, परराष्ट्र नीति र काँग्रेसको नेतृत्वमा आगामी ५ वर्षसम्म स्थायी सरकार यी तीन सर्त माने मात्र आगामी निर्वाचचनमा गठबन्धनका दलहरुसंग चुनावी तालमेल हुने उहाँले बताउनुभयो । काँग्रेस सबैभन्दा पुरानो र सबैभन्दा ठूलो दल पनि भएका कारण गठबन्धनका अन्य दलहरुले काँग्रेसको सर्त मान्नु पर्ने उहाँको जिकिर छ ।

काँग्रेसलाइ कमभन्दा कम क्षति हुने गरि आगामी निर्वाचनमा गठबन्धन हुनु पर्ने धारणा पनि उहाँको छ । उहाँले अहिले माओवादी केन्द्रले भने अनुसारको सिट बाँडफाँड गरेर चुनावमा जान नसकिने पनि प्रष्ट पार्नुभयो ।

उहाँले गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै कांग्रेस नेपालको पुरानो, ठूलो र पालिका चुनावमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराउनु भयो । नेता कोइरालाले सबैलाई समेटेर हिँड्ने कांग्रेसको सोच रहेको स्पष्ट पार्नुभयो ।

‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिदैछौँ । त्यसमा नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी कसरी हामी जानसक्छौँ’, उहाँले भन्नुभयो, ’गठबन्धन त गर्ने भनेर भन्यौँ, तर जसरी माओवादीले या एकीकृत समाजवादीले या जनता समाजवादीले कुराहरु उठाइरहनुभएको छ । उहाँहरुलाई हामी नै सबै कुरा हो भन्ने पनि लागिराखेको छ । त्यस्तो होइन । नेपाली कांग्रेस ठूलो पार्टी हो । त्यसकारण सबैलाई समेटेर हिँडौं र नेपाली कांग्रेसलाई कम क्षति भएर जाओस् भन्ने मात्रै हामीहरुको सोच हो ।’

काँग्रेस पार्टीमा अहिले पनि गुट उपगुट हाबी रहेको सन्दर्भमा कोइरालाले पार्टीमा गुट उपगुट हुनु स्वभाविक नैै भएको बताउनुभयो । कोइरालाले अहिले कै परामा देश चलाइए संघीयता धरापमा पर्न सक्ने चेतावनी पनि दिनुभयो । उहाँले नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडि बढे मात्रै कांग्रेसको भविष्य उज्वल हुने तर्क गर्नुभयो । नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेसमा धेरै जनताहरुमा खुशी छाएको उहाँको भनाइ छ ।

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

फोटो पनि छ ।

Leave a Reply