वीरगंज । वीरगंजसहित बारा र पर्साका विभिन्न स्थानीय तहलाई जोड्ने गरी एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । चारवटा पालिकाको सहकार्यमा आगामी मंसिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाइएको हो ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले नगर बस सञ्चालनका लागि आवश्यक तयारी पूरा गर्ने निर्णय गरेको छ ।
यातायात सेवालाई दीर्घकालीन र व्यवस्थित रूपमा सञ्चालन गर्न चारवटा पालिकाको सहभागितामा १ करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने सहमति भएको छ ।
कोषमा वीरगंज महानगरपालिकाले ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले ५ लाख रुपैयाँ योगदान गर्नेछन् ।
यसअघि कात्तिक १२ गते बसेको बैठकले नगर बस सञ्चालनको सम्भाव्यता अध्ययन र आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको थियो । बिहीबारको बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित गरेको छ ।
त्यस्तै, नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्ने जिम्मेवारी पनि कार्यदललाई नै दिइएको छ । कार्यदलले मंसिर ७ गतेभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ ।
वीरगंज महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा। सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य छन् ।
वीरगंजसहित बारा र पर्साका छवटा पालिकालाई समेटेर एकीकृत सार्वजनिक यातायात सेवा विस्तार गर्ने योजनाअनुसार यो पहल अघि बढाइएको हो । सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोडेर अन्तरपालिका आवागमन सहज बनाउनु यसको प्रमुख उद्देश्य रहेको छ ।
नगर बस सेवा सञ्चालनमा आएपछि मुख्य सडकबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दालाई बजार, अस्पताल, शैक्षिक संस्था तथा सरकारी कार्यालयसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । निजी सवारीसाधनमा निर्भर हुनुपर्ने र गन्तव्यमा पुग्न पटक–पटक सवारी परिवर्तन गर्नुपर्ने बाध्यतासमेत कम हुने विश्वास गरिएको छ ।
बैठकमा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन दाहाल, कलैया उपमहानगरपालिकाका प्रतिनिधि अजय उप्रेती, वीरगंज महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कीर्तिराज सुवेदीलगायतको सहभागिता थियो ।
















